उद्योगीलाई सस्तो मूल्यमा उखु बेच्न बाध्य भए किसान

 मंसिर ४, २०७५ मंगलबार १७:११:४५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – चिनी कारखाना ढिलो गरी सञ्चालन हुने भएपछि सर्लाहीका उखु किसानहरुले सस्तो मूल्य क्रसरलार्इ उखु बिक्री गर्न थालेका छन ।

समयमा नै चिनी कारखाना सञ्चालन नभएकाले  क्रसर उधोगलार्इ आधाभन्दा कम मूल्य  प्रति  क्विन्टल २ सय ८० रूपैयाँका  दरले उखु  बिक्री गर्न परेको बरहथवा (९, मुर्तियाका किसान रन्जित खड्काले गुनासो गर्नुभयो ।

उखु काटेर अन्य बाली लगाउन ढिलो भइसकेको भन्दै किसानले क्रसर उद्योगमा उखु बेच्न थालेका हुन् । चिनी मिललेभन्दा क्रसर उद्योगलाई आधा कम मूल्यमा उखु बिक्री गर्दा लागत मूल्य उठाउन समेत मुस्किल पर्ने र उखु खेतीप्रति किसानको आकर्षण घट्दै जाने  गढैयाका किसान रामदेव रायको भनाई छ ।

मंसिरको दोस्रो साता बितिसक्दा पनि  किसान प्रतिनिधि  र उद्योग सञ्चालकबीच छलफल नभएपछि मिल सञ्चालन  अन्यौलमा परेको हो । विगतका वर्षमा मंसिरको अन्तिम साताबाट सञ्चालन हुँदै आएको कारखाना यसवर्ष  भने  मंसिरमा सञ्चालन नहुने भएको छ । सर्लाहीमा गएको वर्षको तुलमा यसवर्ष  ३० प्रतिशत उखु खेती बढेको इन्दुशंकर चिनी कारखाना सर्लाहीले जानएको छ ।

उखु खेती बढ्नु र समयमा मूल्यका विषयमा छलफल नहुँदा किसानलाइ उखु बिक्री गर्ने चिन्ता थपिएको छ । सर्लाहीका दक्षिणी क्षेत्रका अधिकांश किसानले उखु बिक्री गर्ने समयमा प्रत्येक वर्ष यस्तै  समस्या झेल्दै आएका छन् । उनीहरुले चिनी कारखानको विकल्पमा प्रत्येक वर्ष खाडसारी तथा क्रसर उद्योगलार्इ ५० प्रतिशत कम मूल्यमा उखु बिक्री गर्दै आएका छन ।

दक्षिणी क्षेत्रका  किसानले गएको वर्ष बिक्री गरेको उखुको भुक्तानी  अझैसम्म पनि नपाएका छैनन् ।  समयमा मिलबाट भुक्तानी नपाएपछि किसानहरुले घर खर्च चलाउन चाडपर्व मनाउन बैंक र साहुबाट ऋण लिएको बताएका छन् ।

सर्लाहीमा तीनवटा ठूला चिनी कारखाना र एक दर्जनको हाराहारीमा क्रसर उद्योगहरु  सञ्चालनमा रहेका छन । उखु क्रसिङको सिजन सुरु हुन लागे पनि गएको वर्षको मौज्दात चिनी बिक्री नभएकाले चिनी कारखानामा क्रसिङको कुनै तयारी नरहेको ईन्दुशकर चिनी कारखाना हरिवनका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।

इन्दुशंकर चिनी कारखान हरिवनको गोदाममा अझै एक लाख ७० हजार क्विन्टल चिनी बिक्री हुन बाँकी रहेकाले यस क्रसिङ सिजनको चिनी राख्ने ठाउँ अभाव भएकाले  मिल सञ्चालनमा अन्यौल रहेको रजकको भनाई छ ।

त्यस्तै धनकौलमा रहेकोअन्नपूर्ण सुगर मिलले  पनि गएको वर्षको चिनी बिक्री नभएर किसानको भुक्तानी गर्न नसकेको दाबी गरेको छ । अन्नपूर्ण सुगर मिलले किसानलाई अझै ३५ करोडभन्दा बढी भुक्तानी दिन बाँकी  रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

नेपाल सरकारले  उखु किसानलाई दिएको अनुदानवापत  ६५ रुपैयाँ २८ पैसा रकम अहिलेसम्म उखु किसानले  पाउन सकेका छैनन् । किसानलाई कुन आधारमा भुक्तानी  गर्ने भन्ने  यकिन उखु बिक्री तथ्यांक नहुँदा भुक्तानीमा समस्य परेको हो ।

समयमा नै चिनी कारखाना  सञ्चालन नहुँदा बाध्य भएर किसानले हिउँदे खेती गर्न क्रसरलाई उखु बिक्री गर्नु परेको उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया