वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न कांग्रेसको माग

 मंसिर ४, २०७५ मंगलबार १७:३०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा अनियमितता भएको दाबी गर्दै छानबिन गर्न माग गरेको छ ।

नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दाबी गर्दै छानबिन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गर्नु भएको हो ।

मंगलबार बसेको समितिको बैठकमा उहाँले ५० औं वर्षसम्म देशलाई आर्थिक भार पर्ने गरी विमान खरिदमा अनियमितता भएको सबै सञ्चार माध्यामले उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई छानबिनको दायरामा ल्याउन आफ्नो पार्टीको जोडदार माग गरेको पनि समितिलाई जानकारी गराउनुभयो ।

कांग्रेसको भर्खरै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गरेको नेता रिजालको भनाई छ । नेता रिजालले अनियमितताको आरोप लागेको त्यो विषयमा समिति चूप लागेर बस्न नहुने धारणा समेत राख्नुभयो । निगमले नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौं प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएर दुई वटा वाईडबडी विमान खरिद गरेको थियो ।

यसैबीच, सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग छलफल गर्ने भएको छ । समितिका सभापति भरतकुमार शाहले त्यो विमान खरिदका सम्बन्धमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीलाई आउँदो आइतबार समितिमा बोलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

समितिको मंगलबारको बैठकमा कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले त्यस सम्बन्धमा छलफल गर्न जोडदार माग गरेपछि समितिले मन्त्री अधिकारीलाई छलफलका लागि आइतबार समितिको बैठकमा बोलाएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव र निगम पदाधिकारीलाई पनि बोलाउने समितिले जनाएको छ ।

समितिका सभापति शाहले व्यवस्थापन पार्टनर खोजेर मात्रै विमान खरिद गर्न तत्कालीन सार्वजनिक लेखा समितिले दिएको निर्देशन विपरित काम गरेको भन्दै निगमको चर्को आलोचना गर्नु भएको थियो ।

समितिको मंगलबारको बैठकमा चिनीलगायतका दैनिक उपभोग्य बस्तुको बजार मूल्य नियन्त्रणसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदन समितिमा पेश गरिएको थियो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया