दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि खुर्सानीको धुलो फ्याँकियो

 मंसिर ५, २०७५ बुधबार १४:९:१८ | एजेन्सी
unn.prixa.net

मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अनुहारमा एक जना व्यक्तिले खुर्सानीको धुलो फ्याँकेपछि भारतीय राजनीतिमा आरोप–प्रत्यारोप सुरु भएको छ ।

आम आदमी पार्टी(आप)ले यो घटना विपक्षी भारतीय जनता पार्टीले गराएको आरोप लगाएको छ । त्यस्तै पार्टीको आधिकारिक ट्विटर ह्याण्डलबाट एउटा ट्वीट गर्दै केजरीवालमाथिको आक्रमण महात्मा गान्धीको हत्यासँग तुलना गरेको छ । पार्टीले एउटा कार्टुन पोस्ट गर्दै दिल्ली प्रहरीको कार्यक्षमतामाथि प्रश्न उठाएको छ । काटुर्नमा दिल्ली प्रहरीले आक्रमणकारीको खल्तीबाट खुर्सानीको प्याकेट खसेको दिल्ली प्रहरीको बयानलाई व्यङ्ग्य पनि गरिएको छ ।

दिल्ली सरकारमा उपमुख्यमन्त्री मनीष सिसोदियाले बीजेपीले दिल्ली प्रहरीसँग मिलेर यस्तो षड्यन्त्र गरेको आरोप लगाएका छन् । तर भारतीय जनता पार्टीका दिल्ली अध्यक्ष मनोज तिवारीले भने घटनामा आफ्नो पार्टीको संलग्नता नभएको बताउँदै घटनाको निन्दा गरेका छन् ।

 

मंगलबार दिउँसो मुख्यमन्त्रीको सचिवालयबाट खाना खान निस्कँदै गर्दा मुख्यमन्त्री केजरीवालमाथि अनिल कुमार नाम गरेका व्यक्तिले खुर्सानीको धुलो फ्याँकेका थिए । 

 

वेटिङ रुममा पर्खेर बसेका अनिलले केजरीवाल निस्कनेबित्तिकै उनलाई ढोग्ने बहानामा खुर्सानीको धुलो अनुहारमा दलिदिएका थिए । उनको आक्रमणबाट केजरीवालको चश्मा पनि भाँचिएको थियो ।

अनिललाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया