आफ्नै डेब्यु नायकसँग जुध्ने भयो झरना थापाको ‘ए मेरो हजुर ३’

 मंसिर ५, २०७५ बुधबार १४:१४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नायिका झरना थापा यतिबेला चलचित्र ‘ए मेरो हजुर ३’ निर्माणमा व्यस्त छिन् । 

चलचित्रमा अभिनेता अनमोल केसी र झरनाकै छोरीसमेत रहेकी नायिका सुहाना थापाको जोडी बाँधिएको छ । 

सुहानाले यसै चलचित्रबाट चलचित्र नगरीमा प्रवेश गर्दैछिन् । चलचित्र चैत्र २९ गतेबाट नेपालभर प्रदर्शनमा आउने पक्का भइसकेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ ले तोकेको प्रदर्शन मितिमा नै अभिनेता सलिनमान बानियाँ अभिनित चलचित्र ‘यात्रा’ पनि प्रदर्शनमा आउने तय भएको छ ।

अझ रोचक कुरा त के छ भने चलचित्र यात्राका नायक सलिनमान बानियाँलाई झरना थापाले नै चलचित्र नगरीमा प्रवेश गराएकी थिइन् । त्यो पनि यसअघिको चलचित्र ‘ए मेरो हजुर २’ बाट ।

अब दुवै चलचित्रको प्रदर्शन मिति यथावत रहने हो भने आफ्नै डेब्यु नायकसँग झरना थापाको चलचित्र जुध्ने पक्का छ ।

चलचित्र यात्रामा सम्राट शाक्यको डेब्यु निर्देशन रहेको छ । चलचित्रमा सलिनमान बनियाँ भ्लगरको भूमिकामा प्रस्तुत हुने बुझिएको छ । सलिनसँगै सलोन बस्नेत, जाह्नवी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेलल गायतको समेत अभिनय रहेको छ ।

चलचित्र यात्राले युवा पुस्ताको मित्रता र मायाको कथा प्रस्तुत गर्ने बताइएको छ ।

चलचित्रकाे कथा पनि निर्देशक शाक्य स्वयंले लेखेका हुन् । संजय लामाको छायांकन रहेको यस चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन छ ।

चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको रहेको छ ।

चलचित्रलाई जर्नी लभस्टोरीसमेत नाम दिइएको छ । यसमा यात्रामा आइपर्ने विभिन्न उतारचढावहरु प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया