बागलुङ नगरपालिका: यहाँ पानीपुरी र चटपट बेच्न पाइँदैन, खान परे अर्काे जिल्ला जानुस् !

 मंसिर ५, २०७५ बुधबार १५:१४:१२ | रासस
unn.prixa.net

बागलुङ  - बागलुङ नगरपालिकाले नगरपालिकाभित्र पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध लगाएकाे छ ।

चना चटपट स्वास्थ्यका लागि हानिकारक भएकाे र नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । 

पानीपुरी तथा चटपटमा मिसाइने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको साैन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

‘हेर्दा सामान्य निर्णय जस्तो लागे पनि पानीपुरी तथा चटपटले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव पार्छ,’ प्रमुख पौडेलले भन्नुभयो, ‘व्यापार गर्ने धेरै विकल्प छन्, नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन।’

अहिले बागलुङ बजारमा पानीपुरी तथा चटपटका ठेला देख्नै पाइँदैन, चटपट खान मनै लागे छिमेकी जिल्ला पुग्नुपर्दछ । 

बागलुङ नगरपालिकाले हालै पानीपुरी चटपटमा प्रतिबन्ध गरेपछि नगरका चोक चोकमा खडा भएका पानीपुरी तथा चटपटका पसल पूर्णरुपमा हटेको पाइएको छ । चटपटका पसल हटेसँगै बजारको सौन्दर्यमा समेत सुधार आएको स्थानीयवासीको भनाइ छ । युवायुवतीमाझ पछिल्लो समय निकै लोकप्रिय बनेको पानीपुरी तथा चटपट स्वास्थ्यका लागि भने निकै हानिकारक भएको डाक्टरहरु बताउँछन् । 

नगरको निर्णयले चना चटपट व्यापार गरी जीविकोपार्जन गर्ने व्यवसायीलाई भने समस्यामा पारेको छ । केही पानीपुरी तथा चटपटको व्यवसायीले अहिले तरकारी तथा फलफूलको व्यापार शुरु गरेका छन् भने केही चटपटकै व्यापार गर्न छिमेकी जिल्लातिर गएका छन् ।


 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया