‘इन्टिग्रिटी आइडल’ प्रतिस्पर्धा : कुरुम्बाङ्गलाई जिताउन बर्दियामा भोटिङ अभियान

 मंसिर ६, २०७५ बिहिबार ११:८:५५ | भावुक योगी
unn.prixa.net

बर्दिया – यस वर्षको सदाचार नायक अर्थात् ‘इन्टिग्रिटी आइडल’ को उपाधि रामबहादुर कुरुम्बाङ्गलाई जिताउन बर्दियामा अभियान नै चलाइएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी रहेका कुरुम्बाङ्गलाई यतिबेला सामाजिक सञ्जाल र एसएमएसबाट भोट गर्ने तरिका सिकाउँदै बर्दियामा अभियान तीव्र बनाइएको हो । 

देशभरीका झण्डै एक हजार जना प्रतिस्पर्धी मध्येबाट उत्कृष्ट पाँच भित्र परेका कुरुम्बाङ्गलाई सर्वोत्कृष्ट बनाउन नागरिकले स्वतस्फूर्त रुपमा भोटिङ्ग अभियान  सुरु गरेका हुन् । अकाउण्टेबिलिटी ल्याबले बर्सेनि सुशासनका दृष्टिले राम्रो काम गरेका सरकारी कर्मचारीलाई ‘इन्टिग्रिटी आइडल’ का रुपमा सम्मानित गर्दै आएको छ । 

कुरुम्बाङ्ग इमान्दार र कर्तव्यनिष्ट हुनुका साथै कार्यालयमा ढिलासुस्ती नगरी र सेवाग्राहीलाई सेवा प्रवाह गर्ने गरेकाले उहाँ निजामति कर्मचारीकै लागि आदर्श पात्र भएको भन्दै बर्दियाबासीले भोटिङ्ग अभियान चलाएको बताएका छन् । 

अन्तिम प्रतिस्पर्धामा रामबहादुर कुरुम्बाङ्गसँगै ध्रुवराज आचार्य, महेन्द्रप्रसाद पौड्याल, अरुण काफ्ले र सीताकुमारी शर्मा हुनुहुन्छ । भोटिङ मंसिर १७ गतेसम्म गर्न सकिने ल्याबले जनाएको छ ।

रामबहादुरको २९ वर्षे यात्रा सेकेण्ड लेफ्टिनेण्ट छोडेर निजामतिमा 

तेह्रथुम जिल्ला फेदाप गाउँपालिका–१, का रामबहादुर कुरुम्बाङ्ग निजामति कर्मचारी भएको २९ वर्ष भयो । उहाँ २०४६ सालमा नासुबाट सरकारी जागिरमा प्रवेश गर्नुभएको हो । २०४९ देखि २०५३ सालसम्म नेपाली सेनाको सहायक सेनानी अर्थात सेकेण्ड लेफ्टिनेण्ट बन्नुभयो । तर, २०५५ सालमा शाखा अधिकृतमा नाम निकालेपछि उहाँ फेरि सेनाबाट निजामतिमै फर्किनुभयो । उहाँ अछाम, ताप्लेजुङ्ग, सोलुखुम्बु, म्याग्दी, प्युठान, मोरङ्गलगायत जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदै अहिले बर्दिया पुगेको झण्डै ७ महिना भएको छ । 

प्रजिअ कुरुम्बाङ्गले बर्दियामा खेलेको भूमिकाको सबैतिर प्रसंशा भइरहेको छ । भ्रष्टाचार, कालोबजारी, चोरी निकासीको अन्त्यसँगै सुशासन कायम राख्न उहाँको भूमिका महत्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताउनुभयो । उहाँको नेतृत्वमा भइरहेका कामले आम मानिसले सरकारी कर्मचारीलाई हेर्ने दृष्टिकोण नै फरक भइरहेको अध्यक्ष धितालको भनाई छ । 

आइडलको उत्कृष्ट पाँचमा परेकामध्ये एकजनालाई यहाँ क्लीक गरेर भोट गर्न सकिन्छ । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया