मर्मतका लागि पोखरा–बागलुङ सडक दैनिक ६ घण्टा बन्द

 बैशाख २५, २०७५ मंगलबार १८:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत, वैशाख २५ – पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे ६ घण्टा बन्द गर्न थालिएको छ । 

सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजारखण्डमा शनिबारदेखि दैनिक ६ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ देखि ८ः३० बजेसम्म डेढ घण्टा तथा बिहान ९ः३० देखि १०ः३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ । अपराह्न १२ः३० देखि २ बजेसम्म र ३ देखि ५ बजेसम्म सडक बन्द गरिएको छ । दिनमा चार पटक गरी ६ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा छाड्ने गरेको कम्पनीका साइट इन्चार्ज काशीराज बोहोराले बताउनुभयो । 

मध्यपहाडी सडक आयोजना कार्यालयसँंग समन्वय गरेर सडक बन्द गरिएको उहाँले जानकारी दिनुभयो । गिरिचोकदेखि नयाँपुलसम्म झण्डै दुई किलोमिट क्षेत्रमा साँघुरो सडक काम बन्द नै गरेर फराकिलो पार्नुपर्ने बाध्यता रहेको बोहोराको भनाइ छ । ‘आयोजनासँंग समन्वय गरी यात्रु र सवारी सधानलाई मर्का नपर्ने गरी बन्द गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बीचमा छ घण्टा भनिए पनि अहिले बढीमा दुई घण्टा मात्रै काम गर्न सकिएको छ ।’ त्यो खण्ड फराकिलो बनाउन झण्डै एक महिना लाग्ने भएकाले त्यस अवधिमा यातायात बन्द हुनेछ । गिरिचोकबाट झोबाङ हुँदै नयाँपुल झर्ने वैकल्पिक सडकमा पनि सवारी साधन चलेकाले ठूलो मर्का नपर्ने र साना सवारी साधनलाई बीचबीचमा छाड्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार दृष्टिले भने पूर्व सूचनाबिना नै बन्दभन्दा पनि केहीबेर सवारी रोकेर काम गरिएको बताउनुभयो । सडक बन्द गर्ने निर्णय गर्न स्थानीय प्रशासन, सरोकार भएकाहरुसहितको बैठक बसेर निर्णय गर्नुपर्ने भए पनि अहिले निर्माण हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने ढंगले काम गर्न निर्देशन दिएको बताउनुभयो । 

कास्कीका प्रजिअ तारानाथ अधिकारीले सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माणको आवश्यकता हेरेर आयोजनाले काम अगाडि बढाएको होला भनी अनभिज्ञता प्रकट गर्नुभयो । ‘सडक निर्माण गर्दा पूर्वसूचना गरी स्थानीय सरोकारवालासहितको सहमतिमा गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो । 

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार कार्यक्रम बनाएर काम भइरहेको छ । 

मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङखण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो । 

सडक विस्तार र स्तरोन्नति गर्न झण्डै तीन अर्ब ३२ करोड रुपैयाँ खर्च हुनेछ । यता बिनासूचना शनिबारदेखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रु भने मर्कामा परेका छन् ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया