मंसिरभित्रै उपराष्ट्रपतिको कार्यालय सार्ने सरकारको तयारी

 मंसिर १०, २०७५ सोमबार १५:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले मंसिर मसान्तभित्र उपराष्ट्रपतिको कार्यालय लैनचौरमा रहेको समाज कल्याण परिषदको भवनमा सार्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उपराष्ट्रपतिको कार्यालय लैनचौरमा रहेको समाज कल्याण परिषदको भवनमा सार्ने गरी तयारीको कामलाई तीव्रता दिइएको जानकारी गराएको हो ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले उपराष्ट्रपति कार्यालय सार्न परिषदको भवन निर्माण तथा सुधारको काममा शहरी विकास मन्त्रालय लागि रहेकोे जानकारी पनि गराउनुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले समाज कल्याण परिषदको कार्यालय भने ललितपुरको पुल्चोकमा रहेको केन्द्रीय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने निर्णय भएको छ ।

परिषदका कर्मचारीहरुको माग अनुसार उनीहरुको कार्यालय पुल्चोकमा रहेको केन्द्रीय बाल कल्याण समितिको नयाँ भवनमा सार्ने व्यवस्था गरिएको सचिव खड्काले बताउनुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय भवन समाज कल्याण परिषदको भवनमा सार्ने निर्णय लिएको पनि स्पष्ट पारेको छ ।

सचिव खड्काले समाज कल्याण परिषदको कामलाई व्यवस्थित बनाउन आवश्यक ऐन, कानुन संशोधन गर्न लागिएको पनि बताउनुभयो । उहाँले राष्ट्रिय लेखा प्रणालीमार्फत् सबै गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउने योजना पनि अघि सार्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा निर्माण गरिएको सो भवनमा उपराष्ट्रपति कार्यालय राख्न लागिएकोमा समाज कल्याण परिषदका कर्मचारीहरुले असन्तुष्टि जनाईरहेका छन ।

यता सरकारले भने त्यो भवन अर्थ मन्त्रालयको सम्पत्ति भएकाले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको स्पष्ट पारेको छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया