सत्यबहादुर : ह्रस्व दीर्घ नमिलेको जिन्दगीको कथा

 जेठ २९, २०७५ मंगलबार १२:२८:३ | सन्जिता देवकोटा

खोटाङ – दौतरीहरु लाहुर जाँदा सत्यबहादुरलाई लाग्थ्यो ‘परिवार छाडेर कसरी जाने पल्टन !’ हिजोआज तिनै दौतरीले पेन्सन थापेको देख्दा सत्यबहादुरलाई लाग्छ आफ्नै जीवनको ह्रस्व दीर्घ मिलेन ।

२०२५ सालतिर जवान हुनुअघि सत्यबहादुरसँग दुई विकल्प थिए, कि लाहुरे बन्ने कि खेतीपाती गरेर घर चलाउने । उहाँले दोस्रो विकल्प छान्नुभयो । परिवार छाडेर टाढा जानुपर्ने विकल्प फिटिक्कै मन परेन उहाँलाई ।

सत्यबहादुर ६८ वर्षको उमेरमा हिजोआज त्यो बेलाको आफ्नो रोजाइको हिसाब किताब गर्नुहुन्छ । तर हिसाब मिल्दै मिल्दैन । ‘मान्छेको जिन्दगीको पनि ह्रस्व दीर्घ मिल्नु पर्छ, ह्रस्व दीर्घ नमिलेको जीवन मिल्दै मिल्दैन,’ सत्यबहादुर भन्नुहुन्छ । 

परिवारको ह्रस्व दीर्घ मिलाउँदा मिलाउँदै लाहुर जान रहर नगरेका सत्यबहादुरलाई आफ्नो जीवन लाहुर नगएकै कारण नमिलेको हो कि जस्तो लाग्छ हिजोआज । त्यो बेला आफ्नो उमेर थियो १० वर्षको । बिहे गर्ने केटीको उमेर थियो १३ वर्ष । उमेरको अन्तरले बिहे त रोकेन, तर लाहुर जाने बाटो रोकियो । 

‘ह्रस्व दीर्घ मिल्नु भनेको सबैकुरा मिल्नु हो, देख्दा पनि राम्रो भोग्दा पनि राम्रो, तर त्यस्तो राम्रो बनाउन मैले चाहिँ जानिन,’ सत्यबहादुरले जीवनको ह्रस्व दीर्घ नमिल्नुको अर्थ पनि बताउनुभयो । 

जीवनको ह्रस्व दीर्घ मिलाउन निकै कोसिस गर्नुभयो । नजानेर मिलेन वा आफूले गरेको कोसिस पुगेन सत्यबहादुर जान्नुहुन्न । ह्रस्व दीर्घ मिलाउन नसक्दा जीवनमा धेरै चिज गुमे पनि जिन्दगीका सानातिना खुशी चाहिँ मिलेको जस्तो लाग्छ उहाँलाई । त्यसैले आजकाल तिनै सानातिना खुशीमै रम्नुहुन्छ ।

त्यो बेला लाहुर गएपछि मात्रै घर चल्छ भन्ने भ्रमलाई सत्यबहादुरले त्याग्नुभएको थियो । परिवारलाई टाढा राखेर लाहुरे हुनु भन्दा परिवारसँगै बसेर ‘तोरी लाहुरे’ हुनु नै निको लाग्यो उहाँलाई । ‘परिवार भन्दा ठूलो केही हुँदैन भनेर’ सत्यबहादुरलाई बुवाले सिकाएका थिए । 

बिहे गरेपछि दौतरीहरु लाहुर गए । तर सत्यबहादुरलाई लाग्यो पैसाको लागि परिवारलाई किन टाढा बनाउने । सत्यबहादुरको धन कमाउने मनलाई काबुमा राख्ने कुरा पनि यही थियो । 

लाहुर नजाँदाका फाइदा

सत्यबहादुरले लाहुर नजाँदा पनि धेरै कुरा कमाउनुभयो । पहिलो कमाई भनेको आठ जना सन्तान हुन् । ६ छोरी २ जना छोरा । तिनै सन्तानको साथमा रम्न पाउँदा उहाँलाई लाहुरमा कमाइने पैसाका बारेमा सोच्ने फुर्सद भएन । 

हलो जोत्नुभयो । खेतमा धान रोप्नुभयो । बारीमा कोदो र मकै । गोठमा बस्तुभाउ । आफ्नै उत्पादनले बिहान बेलुकाको छाक टार्नुभयो । आफैंले गरेको उब्जनीले खान पुग्ने भएपछि सन्तानलाई के खुवाउने भन्ने चिन्ता भएन । पेटपाल्न दुःख गर्नु नपरे पछि सत्यबहादुर झारफुक गर्ने धामीका सहयोगी बनेर गाउँगाउँ डुल्नुभयो । 

‘हरेक दिन जसो कुखुरा र सुंगुरको मासु खान पाइने, रमाइलो पनि हुने, म त निकै वर्ष पो त्यसरी हिँडे त,’ सत्यबहादुरले पुराना दिन सम्झनुभयो । त्यो बेला सत्यबहादुर लाहुर गएका साथीका बुवाआमाको रोग निको पार्ने औषधि हुनुभयो । 

पेट दुखे पनि टाउको दुखे पनि साथीभाइका आमाबुवा सत्यबहादुरलाई भेट्न आइपुग्थ्ये । धामीको मेलोमेसो मिलाउनेदेखि उपचार गर्न शहर पठाउनेसम्मको जिम्मा उहाँकै हुन्थ्यो । ‘सबैलाई सरसहयोग गर्न पाउँदाको खुशी नै अर्कै हुन्थ्यो’ सत्यबहादुर भन्नुहुन्छ ।

‘हिजोआज त जमाना फेरियो, कहाँ पो त्यस्तो समय छ र ? सबैजना आफ्नै काममा व्यस्त, छोराछोरी विदेश ! कस्तो आयो कस्तो जमाना पनि,’ सत्यबहादुरलाई अहिलेको समय मन पर्दैन । बितेका र अहिलेको समयको हरहिसाब पनि मिल्दैन सत्यबहादुरको ।

१० वर्षको उमेरमा सत्यबहादुर बेहुलो बन्दा बेहुली १३ वर्षकी थिइन् । ‘सानो केटा, सेतो फेटा, म त खाली खुट्टै बेहुलो भएको, अहिले कहाँ त्यस्तो छ र ? फेसबुकले कालीलाई पनि गोरी बनाइ दिँदोरहेछ,’ सत्यबहादुर भन्नुहुन्छ । 

१० वर्षको हुँदा बिहे गरेकी केटीसँग उहाँ १० वर्ष पछि मात्रै बोल्नुभयो । बिहे गर्दा सत्यबहादुरले बिहे र श्रीमतीको महत्व बुझ्नु भएको थिएन । लाहुरे बन्ने उमेरमा बल्ल सत्यबहादुरको घरबार मिल्न थालेको थियो । जेठो छोरा जन्मिएका थिए । त्यही छोरो र श्रीमतीकै मायाले उहाँलाई लाहुरे हुन दिएन । 

लाहुर नजाँदा उहाँका बुवाले दुःखमा अरुको गुहार माग्न परेन । श्रीमतीले पनि परदेशी श्रीमानलाई कुर्न परेन । ‘श्रीमती र छोराछोरीलाई छाडेर हिड्न मन लागेन, तिनैलाई कुरेर बसेँ, तर उनीहरुले चाहिँ बेलैमा छाडेर हिँडे,’ अलि उदास हुँदै सत्यबहादुरले सुनाउनुभयो । 

गाउँमा बिमार हुने सबैको ओखती जस्तै बने पनि सत्यबहादुरले रोगले थलिएकी श्रीमतीलाई निको बनाउन सक्नुभएन । पेट दुख्ने । ज्यान सुन्निने रोग लागेको थियो श्रीमतीलाई । उपचार गर्न अस्पताल पनि लैजानुभयो । धामी पनि लगाउनुभयो । 

तर सत्यबहादुरको जोर चलेन । २०५५ सालमा सत्यबहादुरकी श्रीमतीको निधन भयो । उहाँ ४८ वर्षको उमेरमै एक्लो हुनुभयो । छोराछोरी र श्रीमतीकै मायाले लाहुरे नबनेका सत्यबहादुरले उमेरमै पत्नी शोक पर्‍यो । 

लाहुर नजाँदाका बेफाइदा

श्रीमतीको मृत्यु भएपछि सत्यबहादुरलाई सम्हालिन गाह्रो भयो । ‘जसलाई कुरेर बसेँ ऊ नै नभएपछि त्यो बेलाचाहिँ लाहुरे बन्नु पर्ने रहेछ कि भन्ने लाग्यो । हिजोआज त झनै लाहुरे बन्नुपर्ने रहेछ भन्ने लाग्छ,’ सत्यबहादुर भन्नुहुन्छ, ‘ब्रिटिस लाहुरे नबने पनि भारतीय वा नेपाली सेनामा जानु पर्नेरहेछ ।’

‘जब पुग्यो चालिस, आँखा देख्न थालिस् ! जब पुगिस असी, अनि बुद्धि पसि ! भन्छन् । त्यस्तै भयो मेरो जीवनमा पनि’ सत्यबहादुरले उखान सुनाउँदै पछुतो मान्नुभयो । त्यसैले त जीवनको ह्रस्व दिर्घ पनि मिलेन ।

सँगैका साथीहरुले हिजोआज घरबसी बसी पेन्सन थापेको देख्दा सत्यबहादुरलाई लाहुरे नबन्दाको घाटा महसुस हुन्छ । ‘मौकामा चौका हान्नु पर्ने रहेछ, बेलामा होस गुमाइ हालियो,’ सत्यबहादुरका हरेक कुरामा कि त ठट्टा कि त उखान मिसाउनु हुन्छ । 

घर चलाउन अपनाएका बाटोहरु

धामीको सहयोगीको काम गर्दा उहाँलाई रमाइलो त लागेको थियो, तर आम्दानी हुँदैनथ्यो । बालबच्चा बढ्दै जाँदा जिम्मेवारी पनि बढ्नु स्वाभाविक थियो । तर आम्दानीको बाटो भने बढेकै थिएन । खेतबारी जतिको त्यति नै ।

बढेको थियो त सत्यबहादुरको घरखर्च र बजारको मूल्य । श्रीमतीले घर धान्दा सम्म उहाँको घर चलेकै थियो । तर श्रीमतीको मृत्यु पछि घर चलेन । अनि सुरु गर्नुभयो काठको काम । ‘कुर्ची बनाउने, काठमा बुट्टा भर्ने, खाट बनाउने गर्न थालेँ, यो काम गर्न थालेपछि आम्दानी पनि बढ्यो,’ काठका सामान चलाउँदै सत्यबहादुर भन्नुहुन्छ । 

श्रीमतीको मृत्युपछि आफन्तले उहाँलाई अर्को विवाह गर्न सुझाए । तर सत्यबहादुरले काठमा बुट्टा भरेर नै आफ्नो बाँकी जीवन भर्ने प्रयास गर्नुभयो । काठलाई चिल्याउन थालेपछि उहाँको जिन्दगी पनि चिल्लो हुँदै गयो । 

छोरालाई पनि आफूले जानेको सीप सिकाउनुभयो । कान्छो छोराले उहाँकै सीपलाई समाते । जेठो छोराले चाहिँ सत्यबहादुरले त्यागेको बाटो अथवा विदेश जाने बाटो समाते । तर पेन्सन नआउने खाडीको कामदार हुने बाटो । जेठो छोरा मलेसिया लाग्दा सत्यबहादुर छक्क पर्नुभयो । 

‘मैले पेन्सन आउने जागिरको मोह गरिन, तर हिजोआजका केटाकेटी ज्यानै खतरामा पर्ने देश जान्छन ! न पेन्सन आउँछ, न ज्यानको सुरक्षा’ सत्यबहादुरलाई गाउँबाट केटाकेटी काम गर्न बिदेश गएको मन पर्दैन । चार जना छोरीहरुको पनि बिहे भइसक्यो । अहिले सत्यबहादुरका २३ जना त नातिनातिना नै छन् । 
....
‘जीवन दुई दिने हो, आज त हाँस्दैछौ भोली के हुने हो । 
छैन भरोसा छैन ठेगाना...’

बेला बेला गेडा नमिलेका गीत गाउँदै काठमा बुट्टा भरिरहेका सत्यबहादुर बुढेसकालमा पनि कसैको भर पर्नुभएको छैन । उहाँको कान्छो छोराले फर्निचर व्यवसाय गर्नुभएको छ ।

घरको आँगनमा बसेर छोराकै व्यवसायलाई सघाउनुहुन्छ । खोटाङको हलेसी मन्दिर नजिकै छ उहाँको घर । होमस्टे झैं लाग्ने होटल पनि छ सत्यबहादुरको । 

‘विदेश किन जानु पर्‍यो र, अहिले त म घर बसेरै वर्षमा चार लाख रुपैयाँसम्म आम्दानी गर्छु, मैले त केटा (छोरा)हरुलाई पनि नजाउ भनेको हो,’ सत्यबहादुरले आम्दानीको बारेमा सुनाउनुभयो । 

बसीबसी खाने उमेरमा पनि सत्यबहादुरलाई बसी खान मन लाग्दैन । ‘बसेर खानुभन्दा काम गर्दा छोरालाई पनि सहयोग हुन्छ, मेरो ज्यानलाई पनि फाइदा,’ सत्यबहादुर फिस्स हाँस्नुभयो ।

सँगैका साथी पेन्सन खाएर मोटाएका छन् । सत्यबहादुर दिनभरी काम गरेर खाँदा स्वस्थ्य हुनुभएको छ । तर सुत्नेबेलामा हात खुट्टा कटकटी खादा चाहिँ लाग्छ ‘लाहुर जानुपर्ने रहेछ ।’

सत्यबहादुरका लागि विदेश भनेका धरान बजार र कटारी मात्रै हो । लाहुरे नहुँदाका नाफा घाटा त आफ्नै ठाउँमा छन् । ‘कमाउन विदेश नगइ देशमै बसे पनि जीवनमा ह्रस्व दीर्घ मिल्न पर्छ’ कुराकानी सकेर बिदा हुन लाग्दा सत्यबहादुर मलाई भन्दै हुनुहुन्थ्यो ‘मेरो जीवनको ह्रस्व दीर्घ त यस्तै भो, तपाई चाहिँ जिन्दगीको ह्रस्व दीर्घ मिलाउनुस् नि ! नत्र दुःख पाइन्छ ।’


 

अन्तिम अपडेट: मंसिर २०, २०७५

सन्जिता देवकोटा

वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउने सन्जिता देवकोटालाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया