युरोपा लिगमा आर्सनल र चेल्सीको सहज जित

 मंसिर १४, २०७५ शुक्रबार ११:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपा लिग अन्तर्गत इंग्लिस क्लबहरु चेल्सी र आर्सनलले सहज जित हासिल गरी आ–आफ्नो समूहको शीर्ष स्थानमा छन् । दुवै टोली नकआउट चरणका लागि यसअघि नै छनोट भइसकेका छन् । 

समूह एलबाट चेल्सीले ग्रिसको पाएओके एफसीलाई ४–० गोलले हराउँदै अपराजित यात्रा जारी राखेको छ । साथै चेल्सी समूह विजेताका रुपमा नकआउट चरणमा पुग्ने पनि निश्चित भएको छ । स्टाम्फोर्ड ब्रिजमा पाओक खेलको सातौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । पाएओकेका खोचेरिडीले चेल्सीका ओलिभर जिरुडलाई फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । 

त्यसयता २७ औं र ३७औं मिनेटमा गोल गरी जिरुडले चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा घरेलु टोलीले दुई गोल थप्यो । हड्सन ओडोईले ६० र अल्भारो मोराटाले ७८औं मिनेटमा गोल गरेका थिए । चेल्सीको पाँच खेलबाट १५ अंक भएको छ । 

समूह ईबाट आर्सनलले पनि समूह विजेता हुने सम्भावना बलियो बनाएको छ । पाँच खेलमा चार जित र एक बराबरीसहित आर्सनलको १३ अंक छ । यो समूहबाट स्पोर्टिङ क्लबको १० अंक छ र दुवै टोली नकआउट चरणमा पुगिसकेका छन् । आर्सनलले गएराति भोक्स्लालाई ३–० गोलले पराजित गरेको हो । 

युवा खेलाडीहरुलाई अवसर दिइएको खेलमा १०औं मिनेटमा स्मिथ रोवेले आर्सनललाई अग्रता दिलाएका थिए । एरोन राम्सेले २७औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए । ४१औं मिनेटमा जोसेफ विलकले गोल गर्दा आर्सनलले पहिलो हाफमै तीन गोलको अग्रता बनायो । तर, दोस्रो हाफमा गोल हुन सकेन ।

सुरक्षा खतराका कारण युईएफएले यो खेल युक्रेनको पोल्ताभाबाट राजधानी किभस्थित राष्ट्रिय रंगशालामा सारेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया