धार्मिक संस्थाको कार्यक्रममा सरकारले राज्यको स्रोत दुरुपयोग गर्‍याे : कांग्रेस

 मंसिर १६, २०७५ आइतबार १८:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनु सुखद् भएको टिप्पणी गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले सरकारले हालै घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम सुखद् र सकारात्मक रहेको जनाएको हो । तर यसको प्रचार शैली भने अनावश्यक र भड्किलो भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम आउनु सुखद भएको पार्टीको निष्कर्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले प्रचार शैली भने व्यवहारिक नभएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओलीको आलोचना गरिएको पनि स्पष्ट पार्नुभयो ।

कांग्रेसले सो सामाजिक सुरक्षा योजना सफल कार्यान्वयनका लागि पनि सरकारलाई शुभकामना दिएको छ । सामाजिक सुरक्षा कार्यक्रमका लागि आवश्यक ऐन आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको कांग्रेसको दावी छ ।

त्यसैगरी कांग्रेस बैठकले ‘एसिया प्यासिफिक समिट’ मा सरकार आफैँ सहभागी हुनु दुखद भएको पनि जनाएको छ । धर्म निरपेक्ष राष्ट्रको सरकारले कुनै धर्म विशेषको कार्यक्रममा सहभागी भएर संविधानको मर्म विपरित काम गरेको कांग्रेसको आरोप छ ।

प्रवक्ता शर्माले सो कार्यक्रममा सरकारको प्रत्यक्ष सहभागिताप्रति पार्टीको आपत्ति रहेको बताउनुभयो । नेपाली कांग्रेसले खास धार्मिक आस्थामा आधारित संस्थाको कार्यक्रममा सरकारले राज्यको स्रोत तथा साधनको समेत दुरुपयोग गरेको गम्भीर आरोप छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया