खुला दिसामुक्त घोषणा कागजमै सीमित

 मंसिर १८, २०७५ मंगलबार ११:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए पनि अझैसम्म पनि त्यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । खुला दिसामुक्त क्षेत्र घोषणा भएका क्षेत्रमासमेत कतिपय घरमा अझै पनि शौचालय छैनन् भने कतिपय ठाउँहरुमा शौचालय भए पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाका अधिकांश बजारहरुमा सार्वजनिक शौचालय निर्माण गरिएको छैन । 

शौचालय नहुँदा खुला दिसापिसाब भइरहेकै छ । पानी अभावले भएका शौचालयहरुसमेत व्यवस्थापन नभएको र बजार क्षेत्रमा फोहोर बढ्दै गएको स्थानीयबासीन्दाको गुनासो छ । म्याङलुङको बसपार्क, बसन्तपुर बसपार्क र सक्रान्तिबजारको फाल्गुनन्द चोकमा सार्वजनिक शौचालयन सञ्चालित छन् । शुक्रबारे बजारमा रहेको शौचालय प्रयोगविहीन छ । 

मोराहाङ बजार र पोक्लाबाङ बजारमा सार्वजनिक शौचालय छैनन् । जिल्लाका सुख्खाग्रस्त गाउँहरुमा समेत शौचालय बने पनि प्रयोगमा ल्याउन पानी नहुँदा समस्या भएको स्थानीयको भनाइ छ । जिल्लाका २२ हजार ५ सय ३७ घरधुरीमा शौचालय निर्माण भएपछि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले २०७२ साल पुस १६ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको थियो ।

खुला दिशामुक्त बनाउन स्थानीय सरकारहरु जागरुक बन्नुपर्ने आवश्यक देखिएकोे छ । अहिलेसम्म देशका ६० जिल्ला खुल्ला दिसामुक्त घोषणा भएका छन् । तर खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका १५ देखि २० प्रतिशत स्थानमा शून्यदेखि नै सरसफाइको अभियान चलाउनुपर्ने अवस्था रहेको सरकारी तथ्यांकले नै देखाएको छ । सरकारले अबको २ महिनाभित्रै सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया