विद्यालय भवन पहिरोले बगाएपछि बालबालिकाको बिचल्ली

 मंसिर २०, २०७५ बिहिबार १०:४९:३२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – तल्काेट गाउँपालिका–३ को विश्वनाथ आधारभूत विद्यालयको दुईकोठे पक्की भवन पहिरोले पुरेपछि बालबालिकाको बिचल्ली भएको छ । उनीहरु खुला ठाउँमा पहिरोमै बसेर पढ्न बाध्य भएका छन् । कक्षा कोठाभित्र बसेर पढ्ने रहर भए पनि भत्केको कोठा नबन्दा पहिरोमा नै पढ्न बाध्य भएको कक्षा ४ की उमा चदाराले बताइन् ।

आर्थिक वर्ष २०७४/०७५ मा तल्कोट गाउँपालिकाले विद्यालय भवन बनाउन भनेर १६ लाख रुपैयाँ छुट्याएको थियो । सुरुमा ८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको दुई कोठे भवन पहिरोले भत्काएको हो । अरु कोठा पनि बनाउने तयारी भैरहँदा पहिले बनाएको भवन नै भत्किएपछि  समस्या भएको शिक्षिका चम्पा सुवर्णकारले बताउनु भयो ।

कक्षा ४ सम्म पढाई हुने यो विद्यालयमा ८३ जना बालबालिका पढ्छन् । घाम लाग्दा हावाहुरी आउने र पानी पर्दा बस्ने कक्षा कोठा नभएका कारण हाफछुट्टिमा घर फर्किने गरेको कक्षा ४ मा पढ्ने अजय रोकायले बताए ।

विद्यालय भवन नभएपछि कक्षा १ देखि ४ सम्मका सबै बालबालिकालाई एउटै कक्षामा राखेर पढाउने गरिएको छ । ठाउँ अभावका कारण राम्रोसँग पढाई नहुने भएकाले धेरै बालबालिका विद्यालय आउनै छोडेको प्रधानाध्यापक बिर्खराज जोशीले बताउनु भयो । आफूले विद्यालय बगाएको दिनदेखि नै वडा कार्यालय, गाउँपालिका र शिक्षा शाखालगायत सबै ठाउँमा हारगुहार गरे पनि कुनै निकायले सुनुवाई नगरेको उहाँको गुनासो छ । 

विद्यालय रहेको ठाउँभन्दा माथिबाट चैनपुर ताक्लाकोट सडक निर्माण भएको र सडककै कारण वर्षाको समयमा पहिरो जाँदा विद्यालयमा क्षति भएको विद्ययालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज रोकायले बताउनुभयो । पहिरोले दिवाखाजाको घर, चर्पी र खेल मैदानमासमेत क्षति पुर्‍याएको छ ।

अझै पनि पहिरोको जोखिम देखिएकाले विद्यालयलाई अन्यत्र सार्नुपर्ने अवस्था आएको र त्यसका लागि कुरा भैरहेको वडाध्यक्ष भरत बोहराले बताउनुभयो । आफैं प्रदेश सरकार समक्ष पुगेर विद्यालयको अवस्थाबारे लिखित र मौखिक रुपमा समेत जानकारी गराईसकेको उहाँको भनाई छ ।

बस्टी गाउँ पहिरोको जोखिममा

तल्कोट गाउँपालिका वडा नं ३ अन्तर्गतको बस्टी गाउँसमेत पहिरोको उच्च जोखिममा रहेको छ । गाउँभन्दा माथिबाट चैनपुर ताक्लाकोट सडक निर्माणको क्रममा रहेको र गाउँको तलबाट सेती नदीले कटान गर्न थालेपछि जोखिम बढेको हो । वर्षातको समयमा सडक खन्ने क्रममा फालेको माटोले पहिरोको रुप लिएकोले गाउँ माथिबाट खेत तथा घरमा क्षति पुर्याउन थालेकोे छ । 

नदीमा पानीको बहाव बढेसँगै पहिरो खस्न सुरु गर्छ । कहिलेकाहीँ दिन बिराएर सुख्खा पहिरो खस्ने गरेको बस्टीका मुखिया कलकबहादुर रोकायले बताउनुभयो । 

यस विषयमा गाउँपालिकामा जानकारी गराएको र तटबन्धको लागि पहल गरिदिन विभिन्न निकायलाई भनेको वडाध्यक्ष भरत बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो गाउँपालिकाको बजेटले धान्न नसक्ने अवस्था छ, अब केन्द्र र प्रदेश सरकारसँग पहल गरेर गाउँको जोखिम कम गर्न प्रयास गर्नुपर्ने छ ।’


 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया