आफै चढेको स्कुल बसले ठक्कर दिँदा भक्तपुरमा एकजना विद्यार्थीको ज्यान गयो

 मंसिर २२, २०७५ शनिबार ५:५३:११ | उज्यालो सहकर्मी

भक्तपुर – स्कुल छुटेर घर फर्कँदै गरेकी एक विद्यार्थीलाई आफै सवार स्कुल बसले ठक्कर दिँदा मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका कमलविनायकस्थित रोम्बस इंग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत चाँगुनारायण नगरपालिका –८, रानीबारी सुडालकी ७ वर्षीया प्रतिष्ठा खत्रीको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

स्कुल छुटेर अपरान्ह ४ः३० बजे विद्यार्थी पुर्‍याउन गएको बा.१ क. ७२८५ नम्बरको त्यही स्कुलको बसमा सवार बालिका बसबाट झरेर बाटो काटेर जाने क्रममा ठक्कर दिएको थियो ।  आफै चढेको बसले ठक्कर दिएर घाइते भएकी विद्यार्थीको उपचारका लागि  मध्यपुर अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले बसचालक भक्तपुर  नगरपालिका –८, लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान गरिरहेको पोखरेलले जानकारी दिनुभयो ।
                                                                                              

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया