सुन्तला किसानलाई बजारको चिन्ता

 मंसिर २२, २०७५ शनिबार १४:१०:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ ।

सुन्तला बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् । वर्षभरी गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो, तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा आफूहरु चिन्तामा परेको निरौलीका सुन्तला किसान हर्क साउदले बताउनुभयो ।

झण्डै एक दशक अघिदेखि सुुन्तला खेती गर्दै आउनुभएका किसान हर्क साउदले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानहरुलाई चिन्तित बनाएको बताउनुभयो ।  ‘आश गरेको भन्दा बढी सुन्तला फलेको छ तर बजार पाउन मुस्किछ’, उहाँले भन्नुभयो, ‘उत्पादन गरेर के गर्नु आम्दानी हुने बेला मूल्य पाइन् ।’

साउदले मात्रै झण्डै ३ रोपनी जमीनमा सुन्तला लगाउनु भएको छ । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उहाँले बताउनुभयो । सुन्तला, जुनार, कागतीलगायतका अमिलो जातका फलफूलको खेती गर्दै आउनु भएका साउदले वर्षमा झण्डै एक डेढ लाख रुपैयाँ जति आम्दानी गर्नुहुन्छ । उहाँको बगैचाबाट फलेको सुन्तला नखाने त बिरलै होलान ।

सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिना पानीले क्षति पुर्‍याए पनि यस वर्ष डोटीका ग्रामिण क्षेत्रमा सुन्तला भने राम्रै उत्पादन भएको स्थानिय किसानहरु बताउँछन् ।  त्यस्तै बजार व्यवस्थापन र शीत भण्डारको अभावले गर्दा पनि यहाँका सुन्तला उत्पादक किसानहरु मर्कामा परेका छन् ।

पहिलेका बर्षहरुमा यहाँका किसानहरुका बारीमा सुन्तला किन्नेहरु आउने भए पनि यो वर्ष बढी सुन्तला उत्पादन भएकाले कोही नआएको किसानको गड्सेराका अर्का सुन्तला किसान लिलाधर बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतका वर्षमा सुन्तला व्यापारीले बारीमै मूल्य निर्धाण गथ्र्ये । यो वर्ष सुन्तला जताततै फलेकाले अहिलेसम्म कोही आएको छैन् ।’ डोटीको बोगटान, जोरायल, गड्सेरा, मन्नाकापडी, बर्छैन, कपल्लेकी, मुडभारालगायतका ठाउँहरुमा सबैभन्दा बढी सुन्तला खेती गरिन्छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया