भाइको उद्धारका नाममा दिदीको गरगहना समेत लुटियो(भिडियाेसहित)

 मंसिर २३, २०७५ आइतबार १६:४६:५० | सन्जिता देवकोटा

मलेसियामा अहिले संगठित रुपले नेपाली कामदार ठगिन थालेका छन् । मलेयिामा गर्दागर्दैको काम छुटाएर कामदारलाई अवैधानिक बनाइदिने, अवैधानिक बनाएको कामदारलाई अन्त काम लगाइदिने, अनि मलेयिसाको प्रहरीलाई प्रभावमा पारेर आफैंले अवैधानिक बनाइसकेको कामदारलाई पक्राउ गराइदिने र पक्राउ परेको कामदारलाई नेपाल पठाउने नाममा नेपाली दूतावासको नाम प्रयोग गरी कामदारको परिवारलाई नेपालमा ठग्ने संगठित धन्दा गर्ने गिरोहको फन्दामा अहिलेसम्म दर्जनभन्दा धेरै परिवार परिसकेका छन् । यसरी फन्दामा परेका चार परिवारको कथाव्यथाको श्रृंखला हो मलेसियामा कामदार फसाउँदै नेपालमा परिवार लुट्दै । यो श्रृंखलामा आज प्रस्तुत छ युवराज मलेसियामा र दिदी राधा मोरङमा लुटिएको कथा । 

काठमाडौं – छ वर्षपछि मलेसियाबाट फर्किएका युवराज आचार्य आफ्नो घर झापाको बाहुनडाँगी जाने पैसा कमाउन काठमाडौंमा काम खोज्दैछन् । बिहीबार बिहान काठमाडौंको अनामनगरमा भेट्दा युवराज ११ बजे हुने अन्तर्वार्ताका लागि तयार हुँदै थिए ।

छ वर्ष मलेसियामा श्रम गरेर फर्किए पनि न शरीरमा गतिलो लुगा छ न हातमा घरसम्म पुग्ने पैसा । सानोतिनो जागिर गरेर यी दुई चिजको बन्दोबस्त गर्नु छ युवराजलाई  । 

मलेसिया पुगेको एक वर्ष नबित्दै अवैधानिक भएर काम गर्नुपर्ने बाध्यतामा परेका युवराजलाई त्यही कारण घर फर्किँदा अर्को झमेला खेप्नुपर्यो ।

अवैधानिक भएर काम गर्दा जेल परेपछि दूतावासको नाम लिँदै दलालले उहाँ र परिवारसँग जाल गरे । जेलमा रहेका युवराजलाई घर फर्काइदिने आश्वसन देखाएर परिवारबाट दलालले २ लाख २१ हजार रुपैयाँ ठगी दिए ।

शरीरभरी जेलमा पाएको यातनाको घाउ र मनमा ठगिँदाको पीडा लिएर भौतारिरहेका युवराजलाई दूतावासकै नाममा ठग्नेलाई कारवाहीको दायरामा ल्याउनु छ ।

मलेसिया लाग्नुअघि युवराजका अनेक सपना थिए । तिनै सपना पछ्याउँदा युवराजको जिन्दगीका धेरै कुरा लुटिए । ६ वर्षअघि, सन् २०१२ । त्यतिबेला मलेसिया विदेश मात्रै थिएन, सपनाको शहर पनि थियो । आर्थिक अभावमा बाँचेको एकथान जिन्दगीले साँचेका अनेक सपना पुरा गर्ने शहर ।

अभावमा जेलिएको परिवारमा खुशी भर्ने थलो ठान्नुभयो मलेसिया । सपनाका पोको बोकेर अक्टोबर २०१२ मा मलेसिया पुग्नुभएको थियो युवराज । 

फ्रि भिसा फ्रि टिकट अनुसार १० हजार रुपैयाँमा नै उहाँलाई मलेसिया पठाएको थियो म्यानपावरले । प्रिन्टिङ प्रेसमा भनेको थियो काम । मलेसिया पुगेपछि काम पनि भनेकै मिल्यो । 

५ सय ४० रिंगिट बेसिक तलब थियो । ओभरटाइमसहित गर्दा महिनामा १२ सय रिंगिटसम्म कमाइ हुन्थ्यो । तर हातमा पथ्र्यो एक हजार रिंगिट । मासिक २ सय रिंगिट काट्न थाल्यो कम्पनीले । जाँदा सस्तोमा गएकाले त्यही पैसा उठाएको अनुमान लगाउनुभयो उहाँले ।

नयाँ ठाउँ र नयाँ काममा फिट हुँदै हुनुहुन्थ्यो युवराज । तर ज्यान फिट हुन सकेन । वर्ष दिनमा मेडिकल गर्दा रिपोर्ट अनफिट आयो । कमाउन सात समुन्द्र पारी पुगेको मान्छे कमाई नगरी घर फर्किने अवस्था थिएन ।  त्यसैले २०१३ मा कम्पनी छाडेर भाग्नुभयो । 

‘मेडिकल रिपोर्ट अनफिट आएपछि घर फर्किनु पर्ने, म त कमाउन गएको मान्छे घरको अवस्थाकै कारणले गर्दा कम्पनी छाडेर काम गर्न थालें’ युवराजले अवैधानिक भएर काम गर्नुको कारण बताउनुभयो । 

विदेशमा कागजपत्र बिना काम गर्न हुँदैन । बिरामी पर्दा औषधी उपचारदेखि घर फर्किनसम्म समस्या हुन्छ । तर नकमाईकन घर फर्किनुभन्दा कमाइ गर्दा आइपर्ने जोखिमसँग मुकाबिला गर्न तयार हुनुभयो युवराज ।

 श्रम स्वीकृति लिएर काम गर्न गएको कम्पनी छाडेपछि उहाँले थुप्रै कम्पनीमा काम गर्नुभयो । कागजपत्र नहुँदा प्रायः कम्पनीले राम्रो व्यवहार गरेनन् । कतिले दुई तीन महिना काम गरेपछि तलब दिँदैनथे त  कतिले तलब माग्दा उल्टै हप्काउँथे । झण्डै पाँच वर्ष यसैगरी बिताउनुभयो युवराजले मलेसियामा । 

छ महिनाअघि एक दिन युवराज कामबाट फर्किएर स्थानीय साथीहरुसँग सुतिरहनुभएको थियो । सुतिरहेकै अवस्थामा प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा उहाँलाई सोधपुछ गर्नेले भनेका थिए, एक महिना जेल बसेपछि घर जान पाइन्छ । 

युवराजले पनि घर फर्किन पाउने भएपछि हुन्छ नै भन्नुभयो । तर अदालत पुगेपछि कुरा फेरियो । कागजपत्र बिना काम गरिरहेका युवराजलाई ड्रग्स लिएको आरोप लगाइयो । उहाँले आरोप अस्वीकार गर्नुभयो । तर अदालतले उहाँको कुरा सुनेन । अनुसन्धानका लागि हिरासतमा राख्यो । 

‘कोर्टमा लगिरहन्थ्यो, प्रहरीले ड्रग्स लिएको हो भनिस् भने ६ महिनाको मात्र सजाय हुन्छ, नत्र त छुट्ने कहिले हो कहिले भनेर डर देखाए, अन्तिममा केही सीप नलागेपछि हो भनिदिएँ, हैन भनेर प्रमाणित गर्ने मसँग कुनै प्रमाण पनि त थिएन’  नगरेको अपराध स्वीकार्नु पर्दाको क्षण युवराजले पछुतो मान्दै सुनाउनुभयो ।

उनीहरुले लगाएको अपराध स्वीकार गरेपछि अक्टोबर १० तारिखमा उहाँको सुनुवाई भयो । त्यसको भाोलिपल्ट अक्टोबर ११ तारिखका दिन उहाँलाई लेङगेङ क्याम्पमा लगियो । 

क्याम्प जेलभन्दा फरक थिएन । ‘खान पनि नदिने, नाङ्गै राख्ने, नाङ्गै कुट्ने, फोहोर, खानामा पनि  कपाल मिसिएको हुने, गन्हाउने, त्यस्तो ठाउँमा बस्दा त मर्छु जस्तो लाग्यो’ युवराजले घर फिर्ती केन्द्रमा भोगेको सास्ती सुनाउनुभयो । 

एउटै कोठामा ७० देखि ८० जनासम्म राखिएको हुन्थ्यो । युवराजलाई राखिएको कोठामा अरु ६ जना नेपाली थिए ।

घर फिर्ती केन्द्रका प्रहरीले ट्राभल डकुमेन्टका लागि फारम भराए । फारममा युवराजले नेपालको घरको ठेगाना र सम्पर्क नम्बर लेख्नुभयो । फारम भरेको भोलिपल्ट युवराजको नाममा घरफिर्ती केन्द्रमा फोन आयो ।

‘तिमी युवराज हो भन्यो, मैले हो भने, तपाईँ को भन्दा म तिम्रो दूतावास हो, तिम्रो त ड्रग्सको केश रहेछ है भन्यो, मैले आफ्नो बारेमा भनें,’ युवराज भन्नुहुन्छ, ‘घरजान पैसा चाहिन्छ भने ।’

टिकट लागि पैसाको व्यवस्था गर्न घरफिर्ती केन्दका प्रहरी र दलालले मिलेर युवराजकी दिदी राधा कटुवाललाई फोन लगाईदिए । टिकटको पैसा २५ हजार भए पुग्ने भएपछि युवराजले दिदीलाई पैसा पठाइदिन आग्रह गर्नुभयो । 

दिदीले कति पैसा पठाइन । कसरी पठाइन उहाँलाई थाहा छैन । त्यसपछि युवराजको न दिदीसँग सम्पर्क भयो न त दलालसँग नै । घरफिर्ती केन्द्रमा ३५ दिन सास्ती झेलेर उहाँ नोभेम्बर १५ तारिख काठमाडौं ओर्लनुभयो । शरीरमा एकसारो लुगा बाहेक केही थिएन । लगाएको पाइन्ट पनि उहाँलाई विमानस्थलमा म्यानमारका साथीले दिएका थिए । 

काठमाडौं ओर्लिएपछि खर्च माग्न उहाँले दिदीलाई फोन गर्नुभयो । ‘दिदी मलाई घर आउने पैसा पठाइदेन, म काठमाडौं आइपुगेँ,’ युवराजले दिदीलाई फोनमा भन्नुभयो । 

भाइले फोनमा फेरि खर्च माग्दा राधा छक्क पर्नुभयो । किनकी उहाँले भाइलाई मलेसियाबाट फर्काउनकै लागि दलाललाई २ लाख २१ हजार रुपैयाँ बुझाइ सक्नुभएको थियो । राधाले युवराजलाई आफूले लाखौं पैसा पठाइसकेको कुरा सुनाउनुभयो । 

सुन पसलमा गहना राखेर पैसा पठाएँ

भएछ के भने सुरुवातमा दलालले घर फर्किन २५ हजार रुपैयाँ चाहिन्छ भनेपछि युवराजले नै दिदीलाई पैसा पठाइदिन आग्रह गरे ।

राधा मिति त सम्झनुहुन्न तर युवराजले पैसा पठाइदिनु भनेको भोलिपल्ट नै सप्तरीका विजयकुमार महत्तोको नाममा २५ हजार रुपैयाँ आइएमइ मार्फत पठाइदिनुभयो । २५ हजार रुपैया पठाएपछि युवराजको फोन त आएन, तर युवराजको खबरसहित दलालले फोन गरे । 

‘दिदी मेरो घर पनि नेपाल मै हो, अहिले मलेसियामा बस्छु, यहाँकै नागरिकता पाएको छु, तपाईँको भाइलाई जेलमा साह्रै दुःखमा छ, खतरा केस छ, मलेसियाकै दामि मोवाइल चोरेछ, त्यही भएर यसलाई दिनकै कोर्रा हानिरहेको छ, जसरी हुन्छ ७ हजार रिंगिट पैसा हालिदिनु भन्यो, मलाई त रुनु न हास्नुभयो, फेरि भाइले जेलमा छु दिदी भनेको थियो’ राधाले दलालसँग भएको कुरा सुनाउनुभयो । 

फोनमा बोल्ने व्यक्तिले आफू वकिल भएको र ७ हजार रिंगिट पठाएपछि भाइलाई ७ दिन भित्र घर पठाइदिने आश्वासन पनि दिए । ति व्यक्तिले राधालाई तीन दिनको समय दिए । त्यत्रो रकम कहाँबाट ल्याउने राधालाई आपत आइलाग्यो । मलेसियाबाट पैसा मागेको छ भनेर कसैलाई नभन्न र सोधपुछ नगर्न पनि भनेका थिए दलालले । 

राधाको घरमा पुराण थियो । आफन्त सबै भेला भएका थिए । तर भाइ जेलमा परेको खबर उहाँले कसैलाई पनि सुनाउन सक्नुभएन । आमालाई भने भाइको अवस्थाबारे बताउनुभयो । 

दिनैपिच्छे दलालले युवराजको अनेक खबर दिन्थे । ‘तपाईँको भाइ त नाङ्गै छ, खान पनि दिएको छैन, ट्वाइलेटको पानी खाइरहेको छ, तपाईँले पैसा नपठाए त म पनि केही गर्न सक्दिन भन्छ,’ राधाले दलालले फोनमा भनेका कुरा सम्झदै भन्नुभयो ‘यो केसको सजाय त मृत्युदण्ड हुन्छ, तपाईँको भाइको त लाश पनि ल्याउन मिल्दैन, छिटो पैसा पठाउनुस् नत्र यतै मर्छ भनेपछि म आत्तिएँ ।’

राधालाई अर्को पटक फोन आयो युवराज सिकिस्त बिरामी परेको र अस्पताल लाने पैसा नभएको अवस्थाको वयान गर्दै । दिनुहँ आइरहेको भाइको नराम्रो खबरले राधा रन्थनिनु भयो र आफूसित भएको गहना सुन पसलमा धरौटी राखेर पैसा निकाल्नुभयो । 

फोनमा भनेअनुसार नै उहाँले दोस्रोपल्ट उदयपुरका सुमन लिम्बुको नाममा एक लाख ९६ हजार रुपैयाँ हालिदिनुभयो । राधाले यता सुमन लिम्बुलाई पैसा दिएपछि उता भाइको उपचार गर्न पैसा दिने बताएका थिए दलालले ।

 राधाले पैसा हालिदिएपछि एकपटक दलालले फोन गरे । १५ नोभेम्बरमा भाइ फर्किने खबर दिए । त्यसपछि फोन आएको नम्बरमा अहिलेसम्म फोन लागेको छैन ।

 दिदीले जेलबाट छुटाएर घर फर्काउनको लागि दुई लाख २१ हजार खर्च गरिसकेको कुरा युवराजले काठमाडौ आएर घर जाने खर्च माग्दा बल्ल थाहा पाउनुभयो ।

भाइले सबैकुरा बताएपछि राधालाई दलालले ठगेको पक्का भयो । तर कसले र किन त्यसरी पैसा ठग्यो भनेर राधा र युवराज दुवै अलमलमा परे । युवराज घर फर्किन सक्नुभएन । जेल र घर फिर्ती केन्द्रमा पाएको दुःख फेरि बल्झियो । दलालले ठगेको कुराले घाउमा नुनचुक छरेझैं भयो । 

राधाले २५ हजार रुपैयाँ सप्तरीका विजयकुमार महत्तोको नाममा र एक लाख ९६ हजार रुपैयाँ उदयपुरका सुमन लिम्बुको नाममा पठाएको प्रमाण छ युवराजसँग । 

मलाई दूतावास हुँ भन्दै फोन गर्ने व्यक्ति प्रहरी र दूतावास कतै मिलेका त छैनन्, नत्र कसरी यत्रो ठगी गर्न सक्छ, हाम्रो टिकट कसले दियो भनेर त दूतावासले जानकारी लिनुपर्छ नि’ युवराज शंका गर्नुहुन्छ ।  


मलेसियामा कामदार फसाउँदै नेपालमा परिवार लुट्दै श्रृङ्खलाको पहिलो कथा पनि पढ्नुहोस् । 

श्रीमानका नाममा चार लाख लुटिएको थाहै भएन नागिया खातुनलाई (भिडियोसहित)

अन्तिम अपडेट: चैत १, २०७५

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया