जनकपुरको सिको लमजुङमा : धुमधामले मनाइयो रामसीता विवाह उत्सव (फोटो फिचर)

 मंसिर २६, २०७५ बुधबार १७:२०:७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका–७, मा रहेको रामजानकी मन्दिरमा रामसीता विवाह उत्सव धुमधामले मनाइएको छ । विवाह पञ्चमीको अवसरमा मन्दिरमा रामसीता विवाह उत्सव धुमधामले मनाइएको हो । रामजानकी मन्दिर संरक्षण समितिको आयोजनामा विवाह उत्सव भएको हो ।  

मौलिक हिन्दू धर्म परम्पराको जगेर्नाका साथै मन्दिरमा धार्मिक पर्यटन विकास गर्ने उद्धेश्यका साथ जिल्लामै पहिलो पटक जनकपुरको सिको गर्दै लमजुङको सुन्दरबजारमा पनि रामसीता विवाह उत्सव सञ्चालन गरिएको रामजानकी मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिबहादुर अधिकारी ‘माइला दाइ’ले बताउनुभयो ।   

स्थानीय दिलिप अधिकारीलाई राम र उहाँकी श्रीमती पूजा अधिकारीलाई सीताको भेषमा उभ्याईएको थियो । रामजानकी मन्दिरलाई रामको घर बनाइएको थियो ।

रामजानकी मन्दिरबाट राम (दिलिप)लाई बाजागाजासहित अन्माएर निस्केको जन्ती बरेटारको शिवालय मन्दिर पुगेको थियो । 

जन्तीसहित रामले शिवालय मन्दिर परिक्रमा गरेपश्चात जन्ती सीता (पूजा)लाई लिन स्वयम्वरस्थल बनाइएको सुन्दरबजार–७, मा रहेको कृषि क्याम्पसको खेलमैदान पुगेको थियो । स्यवम्वरस्थललाई ध्वजापताकाले सजाइएको थियो ।      

धार्मिक परम्पराअनुसार स्वयम्वर सकिएपश्चात् जन्ती सीता लिई रामजानकी मन्दिर नै फिर्ती भएको थियो । यसै अवसरमा एक नवजोडीले समेत विवाह गरेका छन् ।    

रामसीता विवाहपञ्चमी : हाम्रो मौलिक संस्कृति   

विवाह उत्सवमा हजारौँ दर्शक सहभागी थिए । रामसीता विवाह पञ्चमी नेपालको मौलिक संस्कृति रहेको विवाह उत्सवमा सहभागी सुन्दरबजार–५, तार्कु खहरेका विष्णुभक्त अधिकारीले बताउनुभयो । 

विशेषगरी जनकपुरमा तामझामका साथ मनाइँदै आइएको रामसीता विवाह पञ्चमी लमजुङमा पनि मनाइएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । ‘यो हाम्रो मौलिक संस्कृति हो । यसको सिको लमजुङले पनि गरेको छ । हामी खुशी छौँ ।

यस कार्यले आउँदो वर्षहरुमा पनि निरन्तरता पाओस् भन्ने हामी सबैको चाहना छ’, महादेवको भेषमा सजिनुभएका अधिकारीले बताउनुभयो ।   

मन्दिर संरक्षण समितिका सचिव आनन्दराज खनियाका अनुसार विवाह उत्सवकै अवसरमा रामजानकी मन्दिरमा धार्मिक कथा वाचनका साथै वाद्यवादनसहित भजन–किर्तनसमेत गरिएको छ । 

उत्सवमा सहभागी सम्पूर्ण भक्तजनलाई भोजनको समेत व्यवस्था गरिएको छ । उत्सवलाई सफल पार्न ५ सय १ सदस्यीय मूल आयोजक समिति बनाइएको थियो । विभिन्न उपसमिति बनाइएको थियो । मन्दिर परिसरमा २५ फिट अग्लो हनुमान मूर्ति, कलात्मक गणेश मन्दिरलगायतका निर्माण गरिएको छ ।      
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया