काठमाडौं–निजगढ फास्ट ट्रयाकको डीपीआर माघको दोस्रो सातासम्म तयार हुन्छ : उपप्रधानमन्त्री पोखरेल

 मंसिर २७, २०७५ बिहिबार १५:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माघ दोस्रो सातासम्म तयार हुने बताउनु भएको छ । 

उपप्रधानमन्त्री पोखरेलले द्रूतमार्ग निर्माणको डीपीआर ग्लोबल टेन्डर आह्वान गरी कोरियाली कम्पनीलाई निर्माण गर्न दिइएको पनि स्पष्ट पार्नुभयो । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले एसियाली विकास बैंकको सम्भाव्यता अध्ययन र नेपाल सरकारले स्वीकृत गरेको कार्यविधिको आधारमा द्रूतमार्ग निर्माणको काम सुरु गरिएको पनि बताउनुभयो । 

डीपीआर तयार नभई द्रूतमार्ग निर्माण गरिएको भन्दै खोकना र बुङमतीका स्थानीयले विरोध गरिरहेका छन् । तर उपप्रधानमन्त्री पोखरेलले कानुनसम्मत ढंगले सरकारले दू्रतमार्ग निर्माणको काम सुरु गरिएको दावी गर्नुभयो । उहाँले द्रूतमार्ग निर्माण कार्य सुरु गर्न २०७४ साल वैशाख २१ गते बसेको मन्त्रिपरिषद बैठकले परामर्श दाता खरिद गर्न पनि नेपाली सेनालाई स्वीकृति दिएको स्मरण गराउनुभयो । द्रूतमार्ग निर्माणका लागि सरकारले वातावरणीय प्रभाव मूल्यांकन पनि स्वीकृत गरिसकेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल वैशाख २१ गते दू्रतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोकनाका स्थानीयलाई कानुनसम्मत ढंगले जग्गाको मुआब्जा वितरण गरिएको दावी गर्दै अन्याय भए सम्बन्धित पक्षसँग छलफल गर्न सकिने पनि स्पष्ट पार्नु भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया