त्यो भिडियो, जसले सात मिनेटमै घुमाउँछ सोलुखुम्बु !

 मंसिर २९, २०७५ शनिबार १४:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको महत्वपूर्ण पर्यटकीय स्थल, सांस्कृति सम्पदा तथा जीवनशैली झल्काउने म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

डा. रेणुका सोलुले रचना गरेको गीत ‘सोलुखुम्बु आउनु है हजुर’ को म्यूजिक भिडियो शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुभएको हो ।

गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै मन्त्री अधिकारीले सात मिनेटमै सोलुखुम्बुको महत्वपूर्ण परिचय दिन सफल ‘यो भिडियो सरकारकै सम्पत्ति भएको’ बताउनुभयो ।

पर्यटक भित्राउन विभिन्न कार्यक्रम गरिरहेको सरकारको लागि यो भिडियो पनि एउटा महत्वपूर्ण साधन हुने भन्दै मन्त्री अधिकारीले सोलखुम्बुमा आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारले पनि साथ दिने बताउनुभयो ।

सोलुखुम्बु सोताङमा जन्मिएकी डाक्टर रेणुकाले आफ्नो गीतमा मातृभूमि प्रतिको प्रेमको साथमा स्थानीय रीतिरिवाज, संस्कारलाई प्राथमिकता दिनुभएको छ । म्युजिक भिडिया सोलुखुम्बुका विभिन्न ठाउँमा पुगेर छायांकन गरिएकोले सोलुखुम्बुको बस्तुस्थिति थाहा पाउन सकिन्छ ।

‘सगरमाथा हिउँ सेतै फूलेको 
नाम्चे बजार काखैमा खुलेको 
चौरी गोठैमा, 
शेर्पीनी दिदीको मुस्कान ओठैमा’

आफ्नो मातृभूमिप्रतिको स्नेहस्वरुप नै गीतको जन्म भएको रचनाकार रेणुकाले बताउनुभयो । गीतले सोलुखुम्बुको महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई पनि समेटेको छ ।

आफ्नो गीतले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत भूमिका खेल्नेमा रेणुका आशावादी हुनुहुन्छ । म्यूजिक भिडियोमा सोलुखुम्बुका केही महत्वपूर्ण व्यक्तिहरुलाई समेत देख्न सकिन्छ । पूर्व सभासद् समेत रहेकी आङ दावा शेर्पा, सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्मा, उद्योगी तथा राजनीतिज्ञ प्रकाशसिंह कार्की यशबहादुर राईलगायतले अभिनय गरेका छन् ।

लेखिकाले लामजुरा, पत्ताले, जालिम पोखरी, ज्वालामाई मन्दिर, सगरमाथा, नुम्बुर हिमाललाई गीतमा समावेश गरेर जन्मभूमि सोलुखुम्बुलाई स्वर्गको बगैँचासँग तुलना गर्नुभएको छ ।

गाउँले इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा गंगा खालिङ र देवीबहादुर पुलामी मगरको छायांकन र डा. रेणुका सोलुको निर्माण रहेको छ । गीतमा संगीतकार जसिहाङका साथमा जेनी खालिङको स्वर रहेको छ ।


  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया