तथ्यपरक समाचार सम्प्रेषण गर्न संसदीय मामिला पत्रकारलाई उप–सभामुखको आग्रह

 पुस २, २०७५ सोमबार १८:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले तथ्यपरक समाचार सम्प्रेषण गरिदिन संसदीय मामिलाका पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । 

उपसभामुख तुम्बाहाङफेले सोमबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै महिला सांसदहरुको आवाजलाई बाहिर ल्याउने काममा सहयोग गर्न पनि संसदमा रिर्पोटिङ गर्ने पत्रकारहरुको ध्यानाकर्षण गराउनुभयो ।

विगतमा महिला सांसदहरुकोभन्दा पुरुष सांसदहरुको आवाजलाई बाहिर ल्याउने काम सञ्चारमाध्यमले गरेको पाइएको उल्लेख गर्दै उपसभामुख तुम्बाहाङफेले समानतामा आधारित भएर महिला सांसदहरुलाई प्राथमिकता दिन उपयुक्त हुने तर्क पनि गर्नु यो । त्यसअवसरमा उहाँले महिला पत्रकारहरुलाई पनि पत्रकारिता क्षेत्रमा सहभागिता बढाउन सुझाव दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित अध्यक्ष नारायण काफ्लेले ‘पब्लिक इस्यू’लाई केन्द्रित गरेर समाचार सम्पेषण हुने भन्दै समाजले पनि त्यसै विषयलाई प्राथमिकता दिने बताउनु भएको थियो । उहाँले समाचारको स्रोत खुलाउने कुरामा आवश्यक सहयोग गर्न पनि सांसदहरुलाई आग्रह गर्नुभयो । समाचारको स्रोत लुकाउनुको कुनै अर्थ नहुने अध्यक्ष काफ्लेको भनाई थियो ।

समाजको आइतबार सम्पन्न अधिवेशनले काफ्ले नेतृत्वको १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा कृष्णा पौडेल, महासचिवमा अशोक दाहाल र कोषाध्यक्षमा डिपी उपाध्याय रहनु भएको छ । 

कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाल तथा सबै प्रदेशका प्रदेशसभा उपसभामुखहरु सहभागी हुनु भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया