नेकपा स्थायी समिति बैठक : नेतृत्वको चर्को आलोचना

 पुस ३, २०७५ मंगलबार १२:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन् । 

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको मंगलबारको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको आलोचना पनि गरेका थिए । उनीहरुले सरकारले जनअपेक्षाअनुसार पनि काम गर्न नसकेको भन्दै गुनासो पनि गरे ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि मंगलबारको बैठकमा ८ जना नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रममा पार्टीलाई वैचारिक, राजनीतिक तथा सांगठनिक रुपले पनि एकतावद्ध बनाउन ढिलाई नगर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । सोमबारको बैठकमा पनि नेताहरुले विधिसम्मत ढंगले पार्टी नचलेको र सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टी नेतृत्वको चर्र्काे आलोचना गरेका थिए ।

आजको बैठकमा अध्यक्षद्वय ओली र दाहालको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेताहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले भाग लिनु भएको थियो । सरकार र पार्टीको हालसम्मको काम कार्वाहीबारे नेताहरुले बैठकमा आ–आफ्नो धारणा राख्नु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

स्थायी समिति बैठक बुधबार पनि बस्नेछ । बुधबार बिहान ८ बजे बोलाइएको बैठकमा पनि बाँकी नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नेछन् । ४५ सदस्यीय नेकपा स्थायी समितिमा सोमबार १० जना र मंगलबार ८ जना गरी १८ जना नेताहरुले मात्रै बोलेकाले बैठक अझै केही दिन लम्बिन सक्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

शनिबारबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा सचिवालय सदस्य वामदेव गौतमले आफूप्रति पूर्वाग्रही दृष्टिकोण राखेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया