वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – गएको मंसिर ९ गते राती झापाको शिवसतासी नगरपालिका–८, का लक्ष्मण खनालको घरमा आगलागी हुँदा उहाँसहित उहाँकी श्रीमती, छोरी र छोरो गरी परिवारका चारजनाको ज्यान गयो ।
त्यसको भोलिपल्ट पाँचथरको च्याङथापु बजारमा भएको आगलागीमा परि ११ वर्षीया सोनिया लिम्बूले ज्यान गुमाइन् ।
मंसिर २८ गते दाङमा अर्को निकै दर्दनाक घटना भयो । त्यहाँको बंगलाचुली गाउँपालिका ८ गुराँसेमा आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर ज्यान गयो ।
यी त प्रतिनिधि घटना मात्र हुन् । सुन्दा नै मन चसक्क हुने यस्ता घटनाहरु पछिल्ला समयमा निकै बढिरहेका छन् । सामान्यतया फागुन–चैत–वैशाख महिनामा आगलागीका घटना बढी हुने गरेको भए पनि यस वर्ष मंसिर महिनामा मात्रै आगलागीमा ११ जनाले ज्यान गुमाए भने ३४ जना घाइते भएका छन् ।
एक महिनाको अवधिमा देशभर भएका आगलागीसम्बन्धी २ सय ७९ वटा घटनामा अनुमानित ३२ करोड ६३ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बेदनिधि खनालले जानकारी दिनुभयो ।
मंसिर महिनामा भएका आगलागीका घटनाको मुख्य कारण मानवीय लापरर्वाही नै देखिएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बेदनिधि खनालका अनुसार केटाकेटीले आगो वा आगो निस्कने बस्तु खेलाउनु, विद्युत सर्ट हुनु, घरमा आगो राम्ररी ननिभाई बाहिर जानु, चुरोट/बिँडी खाएर त्यसको ठूटा जथाभावी फ्याँक्नु, किसानले घर वा जंगलको छेउमा विभिन्न बस्तु जलाउनु, आगो बाल्दा होसियारी नअपनाउनु लगायतका कारण आगलागीका घटना बढिरहेका छन् । आगलागीका अधिकांश घटनामा मानवीय सचेतना भएमा घटना नै नहुने वा भएमा पनि क्षति कम गर्न सकिने खनालको भनाई छ ।
विपत जो कसैलाई पनि आउन सक्छ, त्यसैले आगलागी वा अन्य विपतबाट पीडितलाई तत्कालै आधारभूत आवश्यकता (गास, बास, कपास) को व्यवस्था गर्न पहल गर्ने र उसलाई मनोबल उच्च राख्न उत्प्रेरित गर्दै थप सहयोग जुटाउन पहल गर्ने ।
मुख्य कुरा आगलागी हुनै नदिनु हो । यसको लागि हरेक व्यक्तिसम्म आगलागीबाट बच्न उपयाको बारेमा जानकारी पुर्याउनु पर्ने राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खनालले बताउनुभयो ।
सानो गल्तीको झिल्कोबाट मान्छेको ज्यान र करोडौंको धनमाल छिनभरमै सकिने भएकोले यस्ता घटना हुन नदिन हरेक व्यक्ति सचेत हुनपर्ने र व्यक्ति/व्यक्तिसम्म त्यस्ता जानकारी पुर्याउन सरकारी/गैह्र सरकारी क्षेत्र सबै जुट्नुपर्ने हुन्छ ।