युएईमा मानव तस्करीविरुद्ध अभियान चलाउन गरिएको कार्यक्रममा पीडितले नै प्रवेश पाएनन्

 पुस ८, २०७५ आइतबार १२:१७:० | उमाकान्त पाण्डे

युएई – युएईमा हुने मानव तस्करी रोक्न सरोकारवाला संघ संस्थाले सामूहिक अभियान गर्ने प्रतिबद्धता जनाइएको कार्यक्रममा पीडितलाई भने छिर्नै नदिई फर्काइएको छ । 

भिजिट भिसामार्फत नेपालीहरुलाई युएई ल्याउने र अलपत्र पार्ने गिरोह पछिल्लो समय सक्रय भएको भन्दै तस्करी बिरुद्ध सामुहिक अभियान सुरु गर्ने छलफलका लागि कार्यक्रम हुने जानकारी सन्जालबाट थाहा पाएपछि कार्यक्रमस्थलमा पुगेका पीडितले हलमा छिर्न पाएनन् । 

साढे दुई महिना पहिले भिजिट भिसामा युएई ल्याएर अलपत्र पारिएका दुई जना पीडित कार्यक्रममा आफ्नो दुखेसो सुनाउन दूतावासमै गरिएको कार्यक्रममा पुगेका थिए ।

३९ किलोमिटर टाढा मुसाफाको मजदूर क्याम्पबाट आएका तनहुँ दमौलीका होमबहादुर नेपाली र रोल्पाका दिलबहादुर मगर दूतावासमा पुग्नुभएको थियो । तर उहाँहरु कार्यक्रम हल भित्र भने प्रवेश पाउनुभएन । 

प्रवासी मञ्चका अध्यक्ष श्याम कँडेलले कार्यक्रममा पीडितलाई ल्याउनु आवश्यक नरहेको बताएपछि उहाँहरु दुई घण्टा कार्यक्रम स्थल बाहिरै बस्नुभयो । कार्यक्रमको बीचमा दूतावासका श्रम सहचारी मोतिराम भुसालले पीडितलाई उजुरी लेख्न लगाउनुभयो ।

पीडितले दिएको उजुरीलाई थप अध्ययन गरेर आवश्यक कारबाही अगाडि बढाउने कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलको प्रतिबद्धतापछि दुवै जना पीडित क्याम्पमा फर्किएका छन् । 

उनीहरुलाई नेपालबाट २ लाख ४५ हजार रुपैयाँ लिएर सेटिङमा सुवास कार्कीले युएई पठाएको र दुवईमा सरिता महत भन्ने एजेन्टले आफूहरुलाई विमानस्थलमै आएर एक हजार डलर लिएको निवेदनमा उल्लेख छ । 

नेपालीहरु वैदेशिक रोजगारीका लागि पुग्ने देशहरुमध्ये मलेसियापछि युएईमा सबैभन्दा धेरै नेपाली बेचबिखनमा पर्ने गरेको मानव बेचविखनविरुद्ध काम गर्दै आएको संस्था एटबिनको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  

पीडितलाई प्रवेश नदिइएको कार्यक्रममा यहाँ सकृय नेपाली राजनीतिक दल, सामाजिक संघसंस्था तथा पत्रकार महासंघले सामूहिक अभियानका लागि सबै संघसंस्थालाई कार्यगत एकता गर्न अनुरोध समेत गरेका छन् । कार्यक्रममा सात बुँदे प्रतिबद्दता पत्रमा हस्ताक्षर समेत गरिएको छ । 

आफ्ना संस्थामा रहेका कोही व्यक्तिलाई तस्करीमा संलग्न हुन नदिने र भएको पाइए कारबाही गर्ने उनीहरुको प्रतिवद्धता छ । समस्यामा परेका महिलाहरुलाई दूतावासमा सेल्टरको व्यवस्था भए पनि पुरुषको हकमा नभएको भन्दै खान, बस्न र कानुनी पहलका लागि संघसंथाहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । 
छलफलमा सहभागी वक्ताले पीडामा परेकाहरुलाई यहाँका संघसंस्थाले आर्थिक तथा सामाजिक सहयोग गर्दै आएको र त्यस किसिमको सहयोगले तस्करीमा संलग्नहरुलाई नै पृष्ठपोषण गरेको ठहर गर्दै तस्करी र दलाली गर्नेहरुबाटै पीडितलाई न्याय दिलाई पीडकलाई कानुनी दायरामा ल्याउन पहल गर्नुपर्ने बताएका थिए । 

संस्थाका प्रतिनिधिहरुको सहभागितामा मानव तस्करी न्यूनिकरणका लागि ५ सदस्यीय समिति समेत गठन भएको छ । समितिमा राजनीतिक दलका तर्फबाट प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कँडेल, जनसम्पर्क समितिका चित्र केसी, जनप्रगतिशिल मञ्चका अध्यक्ष बाबुराम विश्वकर्मा,  एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठ र पत्रकार महासंघ शाखा युएई अध्यक्ष भुपराज बस्याल हुनुहुन्छ । 

युएईमा रहेका अन्य संस्थासँग समेत समन्वय गर्ने र पदाधिकारी थप्ने गरी हाललाई समितिमा अध्यक्षको नेतृत्व श्याम कँडेलले गर्नुभएको छ । गठित समितिले समस्या निराकरण गर्ने उपाय सहितका विषयमा सरकारलाई सुझाव दिन आफूहरुनै नेपाल जाने जनाएको छ ।

कार्यवहाक राजदुत सागरप्रसाद फुयाँलको प्रमुख आतिथ्यतामा भएको छलफलमा श्रम काउन्सीलर भेषबहादुर कार्की र श्रमसहचारी मोतीराम भुसालको पनि उपस्थिती थियो । 

पहिलो कार्यक्रम नै विवादमा 

मानव तस्करी जस्तो सार्वजनिक सरोकारको बिषयमा खुला बहस गरेर सामूहिक अभियान गर्नुपर्नेमा दुई वटा राजनीतिक दलका प्रतिनिधि, एनआरएन र पत्रकार महासंघ मात्रैले गुपचुपमा रुपमा कार्यक्रम गरेको भन्दै युएईमा रहेका अन्य संघसस्थाले बिरोध जनाएका छन् ।

स्थानीय प्रशासन तथा कुट्नीतिक प्रयासबाट गरिनुपर्ने काममा दूतावासलाई अनावश्यक विवादमा ल्याउन कार्यक्रम गरिएको उनीहरुको भनाई छ । युएईमा रहेका चार वटा संस्था बाहेक अरु संघसंस्थाले विरोध गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Gopal

    Dec. 24, 2018, 7:30 p.m.

    Not good

  •  0 Reply

तपाईको प्रतिक्रिया