जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न: मन्त्री बाँस्कोटा

 पुष १०, २०७५ मंगलबार १६:१:४० | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । 

बनेपा इसाई समितिद्वारा मंगलबार बनेपामा आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि पेवा हैन।’

उहाँले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्ती धर्म परिवर्तन गराउनु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न ।’ 

मन्त्री बाँस्कोटाले धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर गर्नु नहुने र कसैको धार्मिक आस्थामाथि विभेद गर्न नपाइने विचार राख्नुभयाे ।

धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको बताउँदै मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनै पनि नागरिकलाई छुट नभएको बताउँदै राज्यले धार्मिक सहिष्णुता अङ्गालेकाे बताउनुभयाे ।

‘हाम्रो एउटै बस्तीमा अनेक जातजाति र धार्मिक आस्थाका व्यक्ति बस्छन्, हामीले एकअर्काको धर्मको सम्मान गर्नु सिक्नुपर्छ’, उहाँले भन्नुभयो । 

मन्त्री बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको सङ्कल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कार्बाही गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धर्म नैतिकतामा आधारित हुन्छ, एकअर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण पनि छैन ।’

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया