दुई छोरालाई विष खुवाएर आमा आफैंले खाइन् विष, कान्छाे छाेराकाे ज्यान गयाे‍

 पुस ११, २०७५ बुधबार १२:१५:५३ | शैलेन्द्र महतो

धनुषा - धनुषामा घरायसी विवादको कारण एउटी महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् । 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।

विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते छन् ।

आमालाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरको आईसीयूमा भर्ना गरिको छ भने जेठो छोरा रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कान्छो छोरा रितेशको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

स्थानीयका अनुुसार सोमबार राति घरमा सासुसँग घरायसी विवाद भएपछि मंगलबार बिहान रिना दुई छोरालाई लिएर घरबाट निस्केकी थिइन् । घरपरिवार र स्थानीयले खोजी गरिरहेकाे बेला रिना छोराहरुसहित विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कभर्डहल नजिक फेला परेकी थिइन् ।

आमाले जबर्जस्ती विष खुवाएका कारण कान्छो छोरा सिकिस्त भएका थिए भने जेठो छोरा रितिक विष सेवनको कारण सडकमा लडबडाई हिँडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।

त्यसपछि खोजी गर्दा रितिकले आफ्नी आमाले आफैं विष खाएर भाई र आफूलाईसमेत खुवाएको बताएका थिए । तीनै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो छोरा रितेशको बाटोमै ज्यान गएको थियो ।

रिनालाई अझै पनि होस आएको छैन । तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया