विवाह पञ्चमी मेलामा यी बालिकालाई कसले छोड्यो ?

 पुस १३, २०७५ शुक्रबार १३:३८:३२ | शैलेन्द्र महतो
unn.prixa.net

किसन मण्डलसँग बालिका साइना

धनुषा – जनकपुरमा सीताराम विवाह पञ्चमी मेलामा अलपत्र अवस्थामा भेटिएकी अन्दाजी तीन वर्षीया बालिकालाई राख्ने किसन मण्डल अन्योलमा पर्नु भएको छ ।

प्रहरी प्रशासनले ती बालिकाको विषयमा बेवास्ता गर्दा जनकपुरको जानकी युवा क्लबका उपाध्यक्ष किसन मण्डल अन्योलमा पर्नुभएको हो ।

गएको मंसिर २७ गतेसम्म चलेको सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवमा मेला भर्न आएका एक दर्शनार्थीले अन्दाजी ३ वर्षीया बालिकालाई बेवारिसे अवस्थामा छाडेर भागेका थिए ।
 
जानकी मन्दिरको उत्तर छेउमा रहेको जानकी चोकको एक होटेलमा दिउँसो १२ बजे स्थानीय जानकी युवा क्लबका उपाध्यक्ष मण्डलले बालिकालाई देखेपछि जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई जानकारी गराउनु भएको थियो । तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेल र धनुषाका  प्रहरी उपरीक्षक गोविन्द थपलियासहित स्थानीय प्रहरीले तत्काल भेटिएकी बालिकालाई तत्काल सरकारी स्तरबाट व्यवस्थापन गर्न कुनै ठाउँ नभएकाले मण्डललाई नै राख्न आग्रह गरेका थिए ।

विवाहपञ्चमी मेला सम्पन्न भएको दुई साताभन्दा बढी बित्दा पनि बालिकाको आफन्त नभेटिँदा र प्रहरी प्रशासनले समेत कुनै मतलब नगर्दा आफू अन्योलमा परेको उपाध्यक्ष मण्डलको भनाई छ ।  ‘न त प्रहरीले जिम्मा लिन्छन्, न त प्रशासनले । न बालिका छाडेका व्यक्तिको सोधखोज गर्न चासो दिन्छन्’, उहाँले भन्नुभयो, ‘म एकदमै अन्योलमा छु ।’

बालिका मुस्लिम समुदायकी हुन् । बालिकाले आफ्नो नाम साइना, बुवाको नाम मुफ्ताज र आमाकी नाम नाम चँदनी भएको बताउँछिन् । तर गाउँ ठाउँको नाम भने भन्न सक्दिनन् । बालिकाले आफूलाई फुपाले छाडेर गएको समेत बताउँछिन् ।मण्डलका अनुसार हराएकी बालिका सीमावर्ती भारतका हुन् । बालिकाको शरीरभरी घाउका निलडाम छ ।
 
यता धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बालिकाको विषयमा अहिलेसम्म केही नसोचेको प्रतिक्रिया दिनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बालिकालाई सरकारी स्तरबाट राख्ने कुनै व्यवस्था नरहेको बताउँदै जनकपुरमा रहेको अनाथ आश्रममा राख्ने व्यवस्था मिलाउने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया