बल्ल भयो रंगभूमि मैदान बाह्रबिघाको सरसफाई !

 पुस १४, २०७५ शनिबार १५:१६:२३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – मंसिर २७ गते सम्पन्न सप्ताहब्यापी सीताराम विवाह पञ्चमी महोत्सवको फोहोरले कुरुप जनकपुरधामको एतिहासिक रंगभूमि मैदान बाह्रबिघाको शनिबार सरसफाई गरिएको छ ।

विवाह पञ्चमी मोहोत्सव र भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको स्वागत सत्कारमा जानकी मन्दिर र प्रदेश सरकारले तीन करोड रुपैयाँ बढी खर्च गर्दा पनि बाह्रबिघा मैदानलाई भने सरसफाई नगरी कुरुप छाडेको थियो ।

विवाह पञ्चमी सकेको दुई सातासम्म सरसफाई नगर्दा जानकी मन्दिर व्यवस्थापन पक्ष, प्रदेश २ सरकार र जनकपुरधाम उपमहानगरपालिकाको व्यापक आलोचना हुँदै आएको थियो । तर पनि ती सम्बन्धित निकायले कुनै चाँसो नदेखाउँदा समाजसेवी तथा सरसफाई अभियन्ताहरुकै संयुक्त प्रयासमा शनिबार मैदानको वृहत सरसफाई गरिएको छ ।

प्रदेश सांसद एवं सरसफाई अभियन्ता रामअशिष यादव, समाजसेवी बैद्यनाथ साह, दीपक ठाकुर, बजरंगप्रसाद यादवलगायतको संयुक्त प्रयासमा शनिबार भएको वृहत सरसफाईमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, प्रमुख जिल्ला अधिकारी प्रदीप कडेंल, नेपाली सेना, प्रहरी प्रशासन, विद्यार्थी, सर्वसाधारण, उपमहानगरपालिका मेस्तरलगायतको सहभागिता थियो । सरसफाईपछि बाह्रबिघा मैदान चिटिक्क देखिएको छ ।
 
जनकपुरको ठूलो सभासम्मेलन, उत्सव र रामसीताको स्वयम्बर समेत हुने बाह्रविघा मैदानमै हुने गर्दछ । गएको मंसिरमा सम्पन्न विवाह पञ्चमी महोत्सवमा जन्ती आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगीको बाह्रबिघा मैदानमै जानकी मन्दिर र जनकपुरधाम उपमहानगरपालिकाले स्वागत एवं अभिनन्दन गरेको थियो ।

तर विवाह पञ्चमी सकिएपछि ती सम्बन्धित निकायहरु सरसफाई नगरी मुकदर्शक बनेका थिए । प्लास्टिक र कागजको टुक्रा जस्ता फोहोरले बाह्रबिघा कुरुप जस्तै भएको थियो । जसको कारण बाह्रबिघा मैदानमा घुमफिर र हिँडडुल गर्न जाने सर्वसाधारणलाई समस्या हुने गरेको थियो ।
 
यस्तै गएको वैशाख २८ गते भारतीय प्रधानमन्त्रीको सम्बोधन एवं उनको स्वागत अभिनन्दन बाह्रबिघा मैदानमै भएको थियो । यति ठूला–ठूला सभासम्मेलन गरेता पनि सम्बन्धित निकाय जनकपुर वृहत्तर क्षेत्र विकास परिषद, जनकपुरधाम उपमहानगरपालिका लगायतले बाह्रबिघा मैदानको व्यवस्थापनमा ध्यान दिएका छैनन् ।

कुनै सभा सम्मेलन एवं उत्सव हुँदा बजेट खर्चिन र सस्तो लोकप्रियताका लागि मुख्यमन्त्रीदेखि मेयरसम्म सडक एवं सार्वजनिक स्थलमा झाडु लगाएर फोटा खिचाए पनि समापन पश्चात मुकदर्शक बस्ने गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया