स्कुलमा ‘लभ’ परेर पढाइ बिग्रियो : पासपोर्टमा कान बिग्रेर काम सप्रियो !

 पुस १५, २०७५ आइतबार १०:८:२८ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडौं – स्कुल पढ्दापढ्दै एक अर्काका आँखा जुध्न थाले । किताब, कापी र कलम माग्ने, अनि गृहकार्य सिक्ने र सिकाउने बहानामा नजिक हुँदाहुँदै माया झन्झन् गाढा हुन थाल्यो । एकअर्कालाई कहिले घुर्काउँदै, कहिले रिसाउँदै, कहिले फकाउँदै, कहिले पर्खाउँदै र कहिले हात समाउँदै, रमाउँदै भए पनि पढाईलाई निरन्तरता दिन सकेको भए कति राम्रो हुन्थ्यो !

तर पढाईको महत्व नबुझ्दै मनिकुमार र सुशीलाको बिहे भयो । बिहेपछि पढाई छुट्यो । छोराछोरी भए । मायामा रमाउने रहर पूरा नहुँदै घरव्यवहारको जिम्मेवारीले थिच्यो । त्यसपछि दुःखका दिन सुरु भए । 

खोटाङ सिम्पानीका मनिकुमार राई र सुशीला राईलाई विगत सम्झँदा पछुतो लाग्छ ।  ‘प्रेमलाई भन्दा पढाईलाई निरन्तरता दिन सकेको भए जिन्दगीले अहिले सुखको बाटो पहिल्याउँथ्यो होला’ काठमाडौंमा ईंटा बनाउँदै गर्दा भेटिएका मनिकुमारले भने । 

तर त्यतिबेला प्रेमको छालले भविष्यको सोच्ने तरंगलाई छायामा पारिदियो । एसएलसीको सर्टिफिकेट हात पार्ने बेला बिहेको सर्टिफिकेट प्राप्त भयो । बिहेलगत्तै जन्मिएका छोरो जेनिश अहिले ८ वर्षका भए, छोरी प्रकृति ४ वर्ष लागिन् । 

कतारको चक्करले काठमाडौंसम्म

स्कुल पढ्न जाँदासम्म पैसा कमाउने चिन्ता थिएन । स्कुलमा भोक मेट्ने गरी खाजा खान नपाए पनि घरमा बिहान बेलुका पेटभरी भात खान पाइन्थ्यो । बाआमालाई बिहान बेलुका एकछिन काम सघाएपछि अरु चिन्ता लिन पर्दैनथियो । लेखपढ र खेलकूदमै दिन बिताउन पाइन्थ्यो । 

तर बाबुआमाको इच्छा विपरीत बिहे गरेपछि मनिकुमारको जिन्दगीले कोल्टो फेर्यो । बिहे गरेको अर्को वर्षमा छोरो जन्मियो । परिवारमा सदस्यसँगै जिम्मेवारी पनि थपियो । खेतीकिसानीले गुजारा चलाउन मुश्किल पर्न थाल्यो । 

छिमेकका केहीले विदेश गएर राम्रो कमाई गरेका छन् भन्ने थाहा पाएपछि मनिकुमारलाई पनि उतै जाउँजाउँ लाग्न थाल्यो । गाउँकै साथीले कतारमा काम मिलाइदिन्छु भनेपछि मनिकुमार नागरिकता बोकेर पासपोर्ट बनाउन सदरमुकाम जानुभयो । पासपोर्ट त बन्यो, तर फोटो मिलेन । ‘फोटोमा कान प्रष्ट देखिएन भनेर फर्काइदियो, दोस्रोपटक बनाउन जाँदा पनि कान मिलेन, त्यसपछि कतारको चक्कर छाडेर ज्यामी काम गर्न थालें’ मनिकुमारले भन्नुभयो ।

गाउँमा सधैं काम नपाउने भएपछि उहाँ तीन वर्षअघि काठमाडौं आउनुभयो । ज्यामी काम गर्दागर्दै मिस्त्री काम पनि सिक्नुभयो । त्यसपछि उहाँलाई खाली हात बस्नु परेको छैन । मिस्त्री काम गर्दा दिनको कम्तीमा एक हजार रुपैयाँ कमाई हुन्छ । त्यतिबेला पासपोर्टमा कान बिग्रिएर अहिले ठीकै भयो जस्तो लाग्छ उहाँलाई । 

‘विदेश गएको भए कमाइ हुन्थ्यो कि हुन्नथियो, अहिले यहाँ खाली हात त बस्नु परेको छैन’ मनिकुमारले सन्तोष मान्दै भन्नुभयो, ‘दुःखै गरेर भए पनि श्रीमती र छोराछोरीसँगै बस्न पाइएको छ, पासपोर्टमा कान बिग्रेर काम सप्रियो भनेर चित्त बुझाउने गर्छु ।’ 

कोठामा ताला लगाएर खेतमा बास

मनिकुमार श्रीमती र दुई छोराछोरीको साथमा कीर्तिपुर बजारमा डेरा लिएर बस्नुहुन्छ । महिनाको २५ सय रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । तर मंसिर लाग्नेबित्तिकै उहाँ कोठामा ताला लगाएर सपरिवार चन्द्रागिरिको ईंटा भट्टा नजिकै खेतमा बास बस्न पुग्नुभएको छ । 

‘पकाउने भाँडादेखि लगाउने र ओढ्ने लुगाफाटा जम्मै बोकेर खेतमा आएको, अबको पाँच महिना खेतमै बास हुन्छ’ ईंटा बनाउँदै गरेका मनिकुमारले भन्नुभयो । यो सिजनमा ज्यामी र मिस्त्री काममा भन्दा ईंटा बनाउने काममा फाइदा हुने उहाँले बताउनुभयो । श्रीमान श्रीमतीले कस्सेर काम गर्दा दिनमा २५ सय÷तीन हजार रुपैयाँ कमाई हुन्छ ।

खेतमै बास बसेर ईंटा बनाउन आए पनि उहाँहरुले कीर्तिपुर बजारको कोठा छोड्नुभएको छैन । भाँडा र लुगाफाटा बाहेकका काठ, दराज लगायतका सामान उतै छ । सामान मात्रै राखेर मान्छे नबस्दा महिनाको एकहजार रुपैयाँ मात्रै तिर्दा पुग्ने उहाँले बताउनुभयो ।

छाप्रामै रमाउँछन् छोराछोरी

मनिकुमार र सुशीलाका छोरा जेनिश दुई कक्षामा र छोरी प्रकृति शिशुमा पढ्छन् । कीर्तिपुरकै एउटा निजी विद्यालयमा पढ्ने उनीहरुलाई कोठाभन्दा खेतको बसाई नै रमाइलो लागेको छ ।

‘कोठामा हुँदा यस्तो फराकिलो ठाउँमा खेल्न पाउँदैन थिए, यहाँ खेतमा मज्जाले खेल्न पाएका छन्’ नजिकै खेल्दै गरेका छोराछोरी हेर्दै सुशीलाले भन्नुभयो । 

जेनिश र प्रकृति खेलेर मात्र समय बिताउँदैनन् । स्कुलबाट आउनेबित्तिकै छाप्राभित्रै बसेर गृहकार्य गर्छन्, एकछिन पढ्छन् ।

फुर्सदमा आमा बाले काम गरेको हेर्छन् । आमाले भात बसालेर ईंटा बनाउन थाल्छिन् । कुकरमा सिट्ठी बजेपछि जेनिशले ग्यास बन्द गर्छन् । बहिनीलाई गृहकार्य सिकाउने र भात खुवाउने काम पनि गर्छन् । उनी अलिअलि काम सघाउने भएका छन् । छोराछोरीले पढ्दै काम सघाउन थालेको देख्दा मनिकुमार र सुशीला खुसीले गद्गद् छन् ।

‘छोराछोरीकै लागि दुःख गरेको, दुःखै गरेर भए पनि धेरै पढाउन मन छ’ मनिकुमारले भन्नुभयो, ‘छोराछोरी ज्ञानी र सन्तोषी छन् । पढ्छन् पनि, काम पनि सिक्दैछन् ।’

तर छोराछोरीले बीचमै पढाई नछोडुन् भन्नेमा मनिकुमारका दम्पती सजक छन् । ‘हामीले त पढेनौं र अहिले दुःख पायौं, तर छोराछोरीले हाम्रो जस्तो दुःख नपाउन् भन्नेमा सचेत छौं’ मनिकुमारले भन्नुभयो ।

‘काम हेर्दा गाह्रो, गर्दा सजिलो’

चिसोमा ईंटा बनाउने काम हेर्दा निकै गाह्रो लाग्छ । त्यसमाथि राती पनि उठेर काम गर्नुपर्ने भएकाले ईंटा बनाउन सजिलो त छँदै छैन । तर मनिकुमारलाई भने अरुले सोचेजस्तो आफ्नो काम गाह्रो लाग्दैन ।

‘अरुले हेर्दा कस्तो जाडो भएको होला भनेर सोच्छन्, तर काम गर्न थालेपछि जाडो नै हुँदैन’ मनिकुमारले भन्नुभयो, ‘जति ईंटा बनाउन सक्यो, त्यति नै पैसा आउने भएकाले ईंटाको चाङ ठूलो देखिन थालेपछि थकाई पनि मेटिन्छ ।’

वैशाखमा खेतबाट उठेर हिँड्दा कम्तिमा दुईलाख रुपैयाँ बोकेरै जाने उहाँको योजना छ । ‘ईंटा बनाएर दिनको १५ सय, दुईहजार रुपैयाँ कमाई हुन्छ, ईंटा बनाउने काम सकिएपछि फेरि मिस्त्रीको काम पाइहालिन्छ’ मनिकुमारले आफ्नो काममा सन्तुष्टि जनाउँदै भन्नुभयो, ‘दुःख गर्न सके विदेश यहीँ छ ।’

लाखको आशमा खेतको बास –१  : दिनरात बुढाबुढी साथ : मेलो सार्न कुखुरासँग बात !

अन्तिम अपडेट: असोज २१, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया