यूएईमा सन् २०१८ मा १ सय ७ नेपालीको मृत्यु, ६ वर्षमा ४५४ जना नेपालीले ज्यान गुमाए

 पुस १७, २०७५ मंगलबार ७:४२:४८ | उमाकान्त पाण्डे
unn.prixa.net

उमाकान्त पाण्डे/उज्यालो 

यूएई – सन् २०१८ मा यूएईमा १ सय ७ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ९८ जना पुरुष र ९ जना महिला भएको आवुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यो सख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो । 

यो संख्या अघिल्लो वर्षभन्दा २३ जनाले धेरै हो । सन् २०१७ मा ८४ जना नेपाली कामदारको ज्यान गएको थियो । मृत्यु हुनेमा सबैभन्दा धेरै प्राकृतिक कारणले ४७ जनाको मृत्यु भएको छ । ४४ जना पुरुष र ३ जना महिलाको ज्यान जानुको कारण प्राकृतिक भएको दूतावासले जनाएको छ । प्राकृतिक कारण अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा रक्सी खाएर मृत्यु हुनेहरु छन ।

आत्महत्या गर्ने धेरै

आबुधाबीमा रहेको नेपाली दूतावासको तथ्याङ्क अनुसार सन् २०१८ मा ३० पुरुष र ३ महिला गरेर ३३ जनाले आत्महत्या गरेका छन् । जुन सख्या सन् २०१७ भन्दा ७ जनाले धेरै हो । सन् २०१७ मा २६ जनाले आत्महत्या गरेका थिए । त्यस्तै सडक, जल(डुबेर) र आगोमा (जलेर) परेर दुर्घटना हुँदा २१ पुरुष र २ महिला गरी २३ जनाको ज्यान गएको दूतावासको तथ्याङ्कमा उल्लेख छ । मृत्यु भएकामध्ये १०३ जनाको शव नेपाल पठाइसकेको र ४ जनाको पठाउन बाँकी रहेको दूतावासले जनाएको छ।

बाग्लुङका सूर्य विक, झापाका अमृत बहादुर कार्की, काठमाडौंकी सृजना बराल र मोरङका अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । विकको हृदयघातका कारण ज्यान गएको र अन्य तीनजनाको शव अनुसन्धानको प्रकृयामा रहेको दूतावासले जनाएको छ ।

६ वर्षमा ४५४ जनाको मृत्यु, सडक दुघर्टना र रक्सी मुख्य कारण

पछिल्लो ६ वर्षमा यूएईमा ४ सय ५४ जना नेपालीको ज्यान गएको छ । जसमध्ये ४ सय १५ जना पुरुष र ३९ जना महिला छन् । सन् २०१७ मा ८४ जना, सन् २०१६ मा ६६ जना , र सन् २०१५ मा ६४ जना नेपाली कामदारको ज्यान गएको थियो ।

त्यस्तै सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको यूएईमा ज्यान गएको थियो । यो ६ वर्षमा सडक दुर्घटना र जाँड खाएर ज्यान गुमाउनेको संख्या बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली छन । 

अघिल्लो चार वर्षको तथ्याङ्कले यूएईमा औसतमा ज्यान गुमाउने नेपालीको संख्या घट्दै गएको देखाए पनि गएको दुई वर्षमा ज्यान गुमाउने नेपालीको सख्या फेरि बढेको छ । जाँडरक्सी खाएर झैझगडा तथा होहल्ला गरेका कारण जेल पर्ने नेपालीको संख्या बढ्नु र ज्यान गुमाउने नेपालीको सख्या पनि धेरै हुनु चिन्ताको विषय भएको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताउनुभयो ।

दूतावासले नेपाली कामदारको मृत्युदर कम गर्न जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्ने र कामदार आफै यसतर्फ सचेत हुनुपर्ने सरोकारवालाको भनाई छ ।

नेपाली दूतावास आबुधाबीले गएको आर्थिक वर्षमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम भन्दै ५ वटा कार्यक्रम गरेको थियो । 

यस वर्ष पनि दूतावासले जनचेतनामूलक कार्यक्रमका लागि नेपालबाट अनुमति पाइसकेको छ । जनचेतनामूलक कार्यक्रममार्फत आम नागरिकलाई सचेत र सजग बनाउँदै, विभिन्न संघसस्थाले आयोजना गरेका स्वास्थ्य शिविरमा सहभागी बनाएर समय समयमा स्वास्थ्य परीक्षण गराउनेलगायतका गतिविधिले यूएईमा नेपालीको मृत्युदर न्यूनिकरण गर्न दूतावास लागि परेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया