इँटासँग साइनो गाँसिएका ६ सन्तान : दुई श्रीमानका, दुई श्रीमतीका र दुई दुवैका !

 पुस १७, २०७५ मंगलबार ८:२१:५० | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडौं – खेतमा ईंटा बनाउँदै गरेका नैनबहादुर तामाङले कुराकानीको मेलो सुरु गर्दै भन्नुभयो, ‘आफ्ना लागि भन्दा पनि ६ जना छोराछोरीको लागि यसरी दुःख गर्नु परेको छ ।’

अहिलेको जमानामा पनि कति धेरै सन्तान त ? भन्ने प्रश्न सुन्नेबित्तिकै उहाँले नजिकै रहेकी श्रीमतीतिर हेर्दै भन्नुभयो, ‘सबै हाम्रा मात्रै होइनन्, मेरा दुई, उनका दुई, अनि सबैभन्दा पछिका दुई चाहिँ हाम्रा ।’

सजिलै बुझ्न गाह्रो हुने कुरा गरेका नैनबहादुरले नै नाता, सम्बन्ध प्रष्ट्याउनुभयो । ‘दुई बच्चा भएपछि मलाई पहिलो श्रीमतीले छोडेर हिँडी, अनि उनको पनि दुई बच्चा भएपछि पहिलो श्रीमानले छोडेर हिँडेछन्, त्यसपछि हामी एक भयौँ र पछि हाम्रा दुई बच्चा जन्मिए ।’

धनुषा चारनाथ नगरपालिकाका नैनबहादुर र श्रीमायालाई परिस्थितिले सँगै बनायो । १० वर्ष अघिसम्म उहाँहरुको संसार फरक थियो । नैनबहादुर पहिली श्रीमतीसँग मिलेर घरव्यवहार चलाउनुहुन्थ्यो । श्रीमाया पहिलो श्रीमानसँग मिलेर घरधन्दा गर्नुहुन्थ्यो । 

विदेशमा पनि सजिलो हुँदैन, यहाँभन्दा धेरै दुःख गर्नुपर्छ, विदेशमा गएर पनि दुःखै गर्ने हो भने त्यहाँ गर्ने दुःख यहाँ किन नगर्ने ?

पहिले पनि इँटा बनाउने काम गर्ने नैनबहादुरका दुई सन्तान त इँटाभट्टामै जन्मिए । त्यसपछि उहाँ गाउँ फर्कनुभयो । इँटा बनाउने काममा समेत साथ दिएकी पहिलो श्रीमतीले त्यसपछि छोडेर हिँडिन् । दुई छोराछोरीलाई हुर्काउने जिम्मा नैनबहादुरको थाप्लोमा आइलाग्यो ।

गाउँमै अर्को श्रीमानसँग बसेकी श्रीमायालाई पनि ठ्याक्कै यही नियति आइलाग्यो । दुई छोरीलाई काखमा छाडेर श्रीमान अर्कैसँग रमाउन थाले । नैनबहादुर र श्रीमायाको व्यथा मिल्यो । एकअर्काको सहारा चाहियो । नैनबहादुरले नै सँगै नयाँ जिन्दगी जिउने प्रस्ताव गर्नुभयो । धेरै सोचेर श्रीमायाले पनि समर्थन जनाउनुभयो । दुवैका आ–आफ्ना दुई÷दुई सन्तानलाई साक्षी राखेर दोस्रो विवाह भयो । बिहेपछि दुई सन्तान थपिए ।

‘पहिलेका चार छोराछोरी अहिले आफैले कमाउन सक्ने भैसके, एक छोरा र दुई छोरी भारतमा छन्, एउटी छोरी चाहिँ यहीँ कोटेश्वरमा अर्काको घरमा काम गरेर पढ्दैछिन्’, नैनबहादुरले भन्नुभयो । सबै छोराछोरीलाई पढाउने रहर भए पनि पूरा हुन नसकेको नैनबहादुरले सुनाउनुभयो ।

इँटा भट्टादेखि इँटा भट्टासम्म

नैनबहादुरले इँटा बनाउने काम गर्न थालेको १५ वर्षभन्दा धेरै भयो । लगातार पाँच वर्ष उहाँले इँटा बनाउने कामलाई निरन्तरता दिनुभयो । त्यसपछि गाउँमै फर्किनुभयो र खेतीपातीको काम थाल्नुभयो । ‘अहिले १० वर्षपछि फेरि इँटा बनाउन आएको छु’, उहाँले भन्नुभयो, ‘काम त्यति सजिलो छ छैन । पुस, माघको जाडोमा धेरै त धेरै गाह्रो हुन्छ । जहाँ जे काम गरे पनि सजिलो हुँदैन, दुःखै हुन्छ ।’

पहिले इँटा बनाउन आउँदा साथमा पहिलो श्रीमती थिइन् । इँटा बनाउन बसेकै बेला दुई छोराछोरी जन्मिए । गाउँ फर्किएपछि श्रीमतीले छाडेर हिँडिन् । त्यसपछि श्रीमायासँग दोस्रो घरबार भयो । सन्तान थपिए । अहिले उहाँ दोस्रो श्रीमती र पछि जन्मिएका दुई छोराछोरीको साथमा इँटा बनाउन काठमाडौं आउनुभएको छ ।पहिलेभन्दा अहिले इँटा बनाउने काम सजिलो भएको उहाँले बताउनुभयो । ‘

पहिले आफैले माटो मुछ्नुपर्दथ्यो, अहिले साहुले नै मेशिनबाट माटो पेलेर दिन्छ’, उहाँले भन्नुभयो, ‘छाप्रोमा बिजुली बत्तीदेखि, पानी र शौचालयको समेत सुविधा छ ।’ पहिले राम्रो काम गरेको भनेर उहाँले इँटा भट्टाको तर्फबाट १० हजार रुपैयाँ पुरस्कार पनि पाउनुभएको थियो । 

पासपोर्ट बनाएर पनि विदेश जान मन लागेन

१० वर्षअघि इँटा बनाउँदै गर्दा नैनबहादुरलाई एकपटक विदेश जाने रहर जाग्यो । परिवार र साथीभाइले पनि दबाब दिए । पासपोर्ट पनि बनाउनुभयो । अनि कतार जान भनेर बाटो पनि लाग्नुभयो । 

‘यहीँ इँटा भट्टाबाट साथीहरुले फूलामाला लगादिएर बिदा पनि गरे, अलि पर पुगेपछि ओहो किन जाने विदेश भन्ने मनमा सोच आयो र सिधै गाउँ फर्केँ’, उहाँले त्यो दिन सम्झनुभयो । 

कतार जान भनेर दलाललाई दिएको पैसा बल्लतल्ल फिर्ता लिनुभयो र गाउँमै काम थाल्नुभयो । 

‘विदेशमा पनि सजिलो हुँदैन, यहाँभन्दा धेरै दुःख गर्नुपर्छ, विदेशमा गएर पनि दुःखै गर्ने हो भने त्यहाँ गर्ने दुःख यहाँ किन नगर्ने ?’, उहाँले भन्नुभयो, ‘इँटा बनाउने काम पनि सजिलो त छैन, तर विदेशमा गर्ने दुःख सम्झेर त्यसको तुलना गर्ने हो भने त यही सजिलो जस्तो लाग्छ ।’

१० वर्षअघि उहाँले एकहजार इँटा बनाउँदा जम्मा दुईसय रुपैयाँ पाउनुहुन्थ्यो । अहिले एकहजार इँटा बनाउँदा ११ सय ५० रुपैयाँ पाइन्छ । ६÷७ घण्टा कस्सिएर काम गर्दा एक हजारभन्दा धेरै इँटा बनाउन सकिन्छ । 

‘इँटा बनाएर दिनमा झण्डै १५ सय रुपैयाँ कमाई हुन्छ भने किन विदेश जाने ?’ आफ्नो कामप्रति सन्तुष्टि जनाउँदै नैनबहादुरले भन्नुभयो, ‘कतिपय युवाहरु कमाउन भन्दै विदेश गएका छन् । दुःख पाएका छन् । कोही बाकसमा फर्केर आएका छन् । कतिको बिजोग भएको छ । मलाई लाग्छ, मजस्तै युवाले काम पाइएन भनेर विदेश भौँतारिनु पर्दैन । ६ महिना इँटा बनाएर मज्जाले परिवारको गुजारा चलाउन सकिन्छ ।’  

छोराछोरीलाई पढाउने चिन्ता

नैनबहादुर र श्रीमायालाई छोराछोरीले धेरै पढून् भन्ने चाहना छ । तर पहिलेका तीन छोराछोरीले पढेनन् । अहिले भारतमा बसेर काम गर्छन् । एक छोरी काठमाडौंमै अर्काको घरमा काम गर्दै पढिरहेकी छिन् ।

पछि जन्मिएका छोरी विना १० वर्षकी र छोरा अजित ५ वर्षका भए । विना ३ कक्षा र अजित १ कक्षा पढ्दैछन् । तर अहिले उनीहरु बाबुआमासँगै इँटा बनाउने ठाउँमा बस्छन् ।

‘पहिलेका छोराछोरीलाई पनि पढाउने रहर थियो, तर पढेनन्, एउटी छोरीले चाहिँ राम्रो पढ्छिन् भन्ने आशा छ’, नैनबहादुरले भन्नुभयो, ‘यिनीहरु पनि गाउँको स्कुलमा पढ्दै थिए, हामीहरु यता आउने भएपछि घरमा उनीहरुलाई एक्लै राख्न मिलेन, सँगै ल्यायौँ । अब ५-६ महिना पढाई छुट्ने भयो ।’

अन्तिम अपडेट: भदौ २०, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया