चम्पादेवीमा विवादः तालाबन्दीपछि उजुरी

 पुस १७, २०७५ मंगलबार १८:३८:० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – चम्पादेवी गाउँपालिकाका नेपाल कम्युष्टि पार्टी (नेकपा) बाट निर्वाचित चारजना वडा अध्यक्षले भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष नबराज केशीविरुद्ध जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेका छन् ।

अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा ऐन मिचेर कर्मचारी नियुक्ती वडा अध्यक्षको सही किर्ते गरेर योजनामा भुक्तानीलगायतका गैर कानुनी काम गरेको भन्दै उजुरी गरेका हुन् ।

चम्पदेवी गाउँपालिकामा लिखित निवेदन दिए पनि सुनुवाइ नभएपछि पुस १६ गते चारजना वडा अध्यक्षको नेतृत्वमा गाउँपालिकामा तालाबन्दी गरेका थिए । चम्पादेवीको वडा नं. ५ का झलकमान तामाङ, ६ का तिलक खड्का, ७ का सुरेश थापा, र ९ का झम्कहरि वडालले संयुक्त रुपमा उजुरी दर्ता गरेका हुन् ।

स्थानीय तहमै समस्या समाधान गर्न माग गर्दा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नटेरेपछि अनियमितता छानबिन गर्न उजुरी नै गर्नु परेको वडा नं. ७ का वडा अध्यक्ष सुरेश थापाले बताउनुभयो ।

उजुरीमा प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत, लेखापाल मिलन लुइँटेललाई विपक्षी बनाइएको छ । सरकारी कर्मचारीकै मिलेमतोमा गाउँपालिकाको वडा नम्बर तीनमा रहेको घडेरी सम्याउने निहुमा लाखौं रकम हिनामिना गरेको, कामै नभएको आयोजनामा वडा अध्यक्षको किर्ते सिफारिस बनाइ रकम भक्तानी दिएको र कानुन मिचेर शिक्षक, कर्मचारी तथा प्राविधिक कर्मचारी नियुक्त गरेकाले छानबिन गरी कारबाही गर्न निवेदनमा माग गरिएको छ । 

नेकपा चम्पादेवी गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कार्कीले पनि उजुरी छानबिन गर्न माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने गाउँपालिका अध्यक्ष तथा कर्मचारीलाई झिकाई सत्य तथ्य पत्ता लाउने आश्वासन दिनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया