सांसद डिला संग्रौलाकाे प्रश्न : भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले देशलाई कसरी समृद्ध बनाउँछ ?

 पुस १९, २०७५ बिहिबार १४:३०:५३ | उज्यालो सहकर्मी

काठमाडौं – सांसदहरुले देशको शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचार, सडक विस्तारलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रको क्षेत्रगत विषय र समग्र देशको शान्ति सुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद डिला संग्रौलाले देशभर हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी र सीमा मिच्ने काम भइरहेको भन्दै देशको समस्याको निकास खोज्ने सवालमा सदनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । राष्ट्र खुम्चिँदा पनि समस्याको समाधान नखोजिएको भन्दै उहाँले सदनलाई निकासको थलो बनाउन आग्रह गर्नुभयो ।

रक्षामन्त्रीले हत्यारा पत्ता लागिसक्यो भनेर अभिव्यक्ति दिएको तथा प्रधानमन्त्रीले छानबिनमा कमजोरी भएको भन्नुले बालुवाटार र सिंहदरबारको कुर्सीबाट नै अपराधि संरक्षित छन् भन्ने बुझिएको संग्रौलाले टिप्पणी गर्नुभयो ।

उहाँले वाइडबडी विमान खरिद प्रकणमा बहालवाला मन्त्रीमण्डलमाथि संसदीय उपसमितिले औलो ठड्याइसकेकाले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पनि असफल भएको टिप्पणी गर्नुभयो ।

उहाँले शान्ति सुरक्षा कायम गर्न नसक्ने, सुशासन दिन नसक्ने र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले देशलाई समृद्ध कसरी बनाउन सक्छ ? भनि प्रश्न गर्नुभयो । सांसद अनिलकुमार झाले उखु बिक्रीको व्यवस्था मिलाई उखु किसानको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सत्य पहाडीले जाजरकोट–डोल्पा सडक खण्डको स्तरोन्नति र त्यस क्षेत्रका सबै पुल निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । डोल्पा जिल्लाको एक मात्र अस्पतालको स्वास्थ्य सेवालाई प्रभावकारी हुन नसकेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमल्सिनाले तराईमा बर्सेनि शितलहरका कारण मानिसहरुको ज्यान जाने गरेको भन्दै तराईमा गरिबका घर निर्माणपछि मात्रै मन्त्रीहरुलाई आवास बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

तराई मधेस समृद्धि कार्यक्रमको नाममा अनियमित ढंगले रकम वितरण भइरहेको भन्दै उहाँले सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो  । आफू सुविधा लिने, महंगा गाडी चढ्ने र नागरिकलाई केही नदिने एजेण्डामा सरकार सिमित भएको उहाँको टिप्पणी थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया