नगरपालिकाकालाई कम बजेट दिएको जनप्रतिनिधिको गुनासो

 असार ३, २०७५ आइतबार १३:३५:५५ | उज्यालो सहकर्मी

तेह्रथुम – नगरपालिकालाई गाउँपालिकाकोभन्दा कम बजेट दिएको भन्दै तेह्रथुमका जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।

तेह्रथुममा ६ वटा स्थानीय तहमध्ये दुई वटा नगरपालिका र चार वटा गाउँपालिकाहरु रहेका छन् । त्यसमध्ये सबै स्थानीय तहका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस रकममध्ये पनि क्षेत्रफलका आधारमा ठूलो स्थानीय तह आठराई गाउँपालिकाका लागि २७ करोड र सबैभन्दा सानो मेन्छ्यायेम गाउँपालिकाका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर गाउँपालिकाहरुमा नगरपालिकाकोभन्दा बढी बजेट विनियोजन भएको भन्दै नगरपालिकाका जनप्रतिनिधिहरुले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

म्याङलुङ्गमा भएको एक कार्यक्रममा बोल्दै नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले सदरमुकाम भएको हिसाबले जिल्लाको सबै कार्यक्रमहरुको चाप म्याङलुङ्ग नगरपालिकालाई परिरहेको तर सरकारले गाउँपालिकाकोभन्दा कम बजेट दिएको भन्दै बजेट बाँडफाँड गरी पु¥याउन समस्या भएको बताउनुभयो ।

उहाँले सरकारले स्थानीय तहका आवश्यकता र मागहरुलाई नबुझी बजेट विनियोजन गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले म्याङलुङ्ग नगरपालिकाका लागि २३ करोड ३६ लाख रुपैयाँमात्रै विनियोजन गरेको छ । यस्तै लालीगुराँस नगरपालिकामा २१ करोड २७ लाख विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि तेह्रथुमकै छथर गाउँपालिकामा २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा २० करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया