आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

 पुस २६, २०७५ बिहिबार ७:९:४५ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई - यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीको व्यवस्थापकका लापरबाहीका कारण कम्पनीका झन्डै ७ सय जना कामदार अलपत्र परेका हुन् । तीमध्ये डेढ सयजना नेपाली छन् ।

राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले अलपत्र अवस्थामा छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् । 

‘एउटै कोठामा २१ जनासम्म सुतिरहेका छौँ, क्याम्पको दोस्रो तल्लामा नेपालीहरु छौँ’ कन्चनपुरका गणेश सिंह महराले भन्नुभयो, ‘कतिपय क्याम्पभन्दा बाहिर साथीभाइको सहयोगमा बसिरहनुभएको छ ।’ बिरामी हुँदा उपचार गर्नसमेत नपाएको पीडितहरुको भनाइ छ । 

कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् । ‘केहीले ९ महिना र अरुले ६ महिनाको तलब पाएका छैनौं’ कम्पनीमा ५ वर्ष पहिलेदेखि कार्यरत नवलपरासीका मिनबहादुर जिसीले बताउनुभयो । 

अलपत्रमध्ये ६४ जना १८ महिना पहिले युएई आएका वीरगन्जका मकुन पट्टेलले बताउनुभयो । १८ महिना पहिले आएकाहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् । 

९ महिनादेखि तलब नपाएका २५ जनाले यहाँको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाए पनि भिसा सकिएर (ओभर स्टे) बसेबापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका छैनन् ।      

‘मासिक तलब पाएनौं, मुद्दा गर्यौँ, गएको असोज १८ गते आबुधावीको नेपाली दूतावासमा पुगेर समस्याबारे मौखिक जानकारी गराएका थियौं, अहिलेसम्म कुनै पहल भएन’ झापा ८ भद्रपुरका नारायण गुरुङले उज्यालोसँग भन्नुभयो । मौखिक जानकारी गराउँदा पहल नभएपछि एक हप्ता पहिले लिखित निवेदन दिएर दूतावास धाइरहेको पीडितहरुले बताए । 

भारतीय दूतावासले दिएको खानाले गुजारा चलाउँदै 

कम्पनीले काम गरे अनुसारको सेवा सुविधा नदिएपछि कामदार अलपत्र परेकोबारे यूएईमा रहेका भारतीय संचार माध्यममार्फत खबर बाहिरिएको थियो । त्यसपछि भारतीय दूतावासले चासो देखाउँदै कामदारलाई क्याम्पमै पुगेर भेटेको थियो । भारतीय दूतावास र भारतीय संघसँस्थाले अलपत्र कामदारलाई दैनिक खाना उपलब्ध गराउँदै आएको छ । भारतीय कामदारलाई दिएको खाना अरु देशका कामदारले समेत बाँडेर खाने गरेको नवलपरासी अरुणखोलाका युवराज खडालुकले बताउनुभयो । 

‘मंगलबार दिउँसो क्याम्पमा पानी बिजुली समेत काटिएको छ, खानाको समस्या त थियो, पानी बिजुली पनि काटियो’ सुर्खेतका बिष्णुप्रसाद कोइरालाले भन्नुभयो । 

कम्पनीमा आएका सबै कामदार नेपालबाट सीतापाइलामा रहेको सन हिल्स म्यानपावरबाट युएई आएका हुन । सनहिल्स म्यानपावरका संचालक सूर्य अधिकारीसँग पनि सम्पर्क गरिरहेको, तर सहयोग नपाएको पीडितहरुले बताएका छन् । 

‘हामी यहाँ समस्यामा परेका छौं, नेपालबाट फेरि यही कम्पनीमा अरु कामदार पनि ल्याइँदै छ भन्ने सुनेका छौं, पोखरा बागमराका रामजी पौडेलले भन्नुभयो । 

दूतावास गम्भीर छ : कार्यवाहक राजदूत फुयाँल 

‘एउटा कम्पनीमा एकैपटक ठूलो सँख्यामा नेपालीलाई समस्या पर्नु गम्भीर विषय हो’ युएईका लागि कार्यवाहक राजदूुत सागरप्रसाद फुयाँलले भन्नुभयो, ‘हामी गम्भीर भएर लागेका छौं ।’ दूतावासले बुधबारनै कम्पनी व्यवस्थापनसँग छलफल गरेको, तर सकारात्मक जवाफ नआएकोले कुटनैतिक प्रयास थालिएको राजदुत फुयाँलले बताउनुभयो । 

बुधबार दिउँसो दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्की र दूतावासका जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलम सम्बन्धित कम्पनी पुगेर छलफल गर्नुभएको थियो । बुधबार नै दूतावासले समस्याबारे जानकारी गराउँदै सरकारलाई पत्र पठाएको छ । 

‘समस्याबारे पत्रमार्फत पररास्ट्र, श्रम मन्त्रालय तथा विभागमा जानकारी गराउँदै तत्काल सम्बन्धित कम्पनी र म्यानपावरका कामकाज रोक्का गर्न भनेका छौं’ राजदूत फुयाँलले भन्नुभयो ।

बुधवार साँझ यूएईको स्थानीय प्रशासनले समेत कम्पनीको मजदुर क्याम्पको निरीक्षण गरेको छ । प्रशासनले काटिएको बिजुली र पानी पुन: सन्चालनमा ल्याएको छ । अलपत्रमध्ये सबै कामदारले श्रम स्वीकृति लिएर आएका हुन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Dem prasad pandey

    Jan. 10, 2019, 12:07 p.m.

    नेपाल सरकारले युएइ सरकारसंग सहकार्य गरि सबैलाई अर्को रोजगारी दिने या नेपाल फर्काउने व्यवस्था गर्नुपर्छ /यस्तो अवस्थामा वीमाको व्यवस्था हुनुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया