घरबाट चार माना मकै लिएर हिँडेको ठिटो वर्ल्ड रेकर्डको तयारीमा

 माघ १, २०७५ मंगलबार १३:३८:२९ | सजना तिमल्सिना
unn.prixa.net

गहुँगोरो वर्ण, हँसिलो अनुहार, पातलो ज्यान, ठाडो कपाल । उमेर २३ वर्ष । हेर्दा अल्लारे लागे पनि जिम्मेवारी धेरै । उनी हुन् सोलुखुम्बुको बासा गाविस– ९ (हाल माप्या दूधकोशी गाउँपालिका–२) मा जन्मिएका नर्विन मगर ।

पर्यटन क्षेत्रमा सक्रिय उनले विश्वमा नेपाल चिनाउन धेरै काम गरिसकेका छन् । नर्विनले अहिलेसम्म सातमध्ये चार महादेशका अग्ला हिमाल आरोहण गरिसकेका छन् ।

उनले १ सय ८० दिनमा ४ महादेशका अग्ला हिमाल चढेका हुन् । नर्विनले गएको जेठ ४ गते सगरमाथा (८ हजार ८ सय ४८ मिटर), साउन १९ गते अफ्रिका महादेशको किलोमन्जारो (५ हजार ८ सय ९२ मिटर), असोजमा यूरोपको एलब्रस (५ हजार ६ सय ४२ मिटर) र पुस १८ गते अकोन्कागुआ (६ हजार ९ सय ६२ मिटर) अग्लो हिमाल चढिसकेका छन् । आउँदो भदौसम्म उत्तर अमेरिकाको डेनाली, इन्डोनेसियाको पुनकक जया र  फ्रान्सको मन्ट ब्लङ्क चढेर सात महादेशका शिखर पुग्ने सबैभन्दा कान्छो आरोहीको कीर्तिमान रच्ने तयारीमा छन् । 

भरियादेखि सेभेन समिटसम्म 

आमाबुवा र दुई दाजुभाइ खेती कोदाली गरेर जीविकोपार्जन गरिरहेका थिए । दुई दाजुभाइको पढाइ पनि चल्दै थियो । तर कामको सिलसिलामा जोमसोम गएका बुबा दुर्घटनामा परेर कमाउन नसक्ने भएपछि बुबाको उपचारसहित आमा र भाइको जिम्मेवारी  उनकै काँधमा थपियो । 

आमासँग मिलेर अरुको खेत जोत्न गए । डकर्मीको काम गरे । उमेर सानै भएकाले बल धेरै थिएन । हलो जोत्दा आमाको सहयोग चाहिन्थ्यो । दिनमा ३० रुपैयाँदेखि एक सय रुपैयाँसम्म कमाए । तर त्यसले घरखर्च चलेन । त्यसपछि उनी १४ वर्षको उमेरमै कामको खोजीमा निस्किए । यो नौ वर्षअघिको कुरा हो । 

घरबाट चार माना भुटेको मकै लिएर कामको खोजीमा निस्किएका १४ वर्षीय नर्विन सोलुखुम्बुको लुक्ला पुगे । उनले भरिया बनेरै भए पनि पैसा कमाउने निधो गरे । तर अनुभव पनि नभएको फुच्चेलाई कसैले विश्वास गरेनन् । उनले काम पाएनन् । 

घरको अवस्थाले पैसा नकमाइ फर्कने अवस्था थिएन । उनी लुक्ला विमानस्थल पुगे । आकाशमा उडेको बेला मात्र देखेको विमानलाई नजिकै जालीबाट नियाले । आकाशमा साना देखिने विमान भूइँमा भयङ्कर देखियो । ती दिन सम्झँदै नर्विन भन्छन्, ‘लुक्ला विमानस्थलमा बाहिरबाट विदेशी आइरहेको हेर्दै थिएँ । त्यही बेलामा दुई जना निस्किए ।’ नर्विन काम पाउने आशामा उनीहरुलाई पछ्याउन थाले । उनीहरु एक होटलमा पसे । कफी पिउन थाले । उनीहरु गएको होटलको मालिकसँग उनले काम मागे, ‘अउ (शेर्पा भाषामा काका) काम पाइन्छ ?’ 

हिमाल चढ्ने लत बसेपछि नर्विनलाई सगरमाथाको चुचुरोमा पुग्न मन लाग्यो । सगरमाथाको चुचुरोमा पुगेपछि सातै महादेशका सर्वोच्च शिखर चुम्ने सपना देखे ।

उनी त्यो दिन सम्झन्छन्, ‘उनले प्रश्न गरे, ट्रेकिङ गएको छ ? मैले झुटो बोलेँ, ‘अँ अउ म माउण्ट एभरेष्टको बेस क्याम्पमा त गएको छैन तर गोरखसेप क्याम्प दुईपल्ट गएको छु ।’

साथीहरुले भनेको सुनेका उनले कामकै लागि झुठो बोले । होटल मालिकले पत्याए । ‘मलाई पर्यटकको भारी बोक्ने काम दिए । काम नपाएर रन्थनिएको मलाई भारी बोक्ने काम पाउँदा पनि विश्व जितेजस्तै लाग्यो’, ती दिन सम्झँदै नर्वीन भन्छन्, ‘दुःखको बेलामा मलाई भारी बोक्ने काम पनि निकै ठूलो लाग्यो ।’

नर्विनले ती दुई पर्यटकलाई सगरमाथाको आधार शिविरसम्म सुरक्षित पुर्‍याउनुपर्ने भयो । तर उनीसँग त्यो अनुभव थिएन । त्यसपछि दौडेर यसअघि आधार शिविर पुगेका प्रेमकुमार विकलाई आफूले काम पाएको कुरा सुनाउँदै सँगै जान आग्रह गरे । त्यसपछि नर्विनसँगै चारजना सगरमाथाको आधार शिविरमा लागे । 

सगरमाथाको आधार शिविरमा पुग्न नर्विनसहितको टोलीलाई नौ दिन लाग्यो । तेस्रो दिन त नर्विन भारीसहित लडे । अंग्रेजीमा ‘गुड मर्निङ’ मात्र भन्न जान्ने उनलाई त्यतिबेला भने गाह्रो भयो । ‘म भारीसहित लडेँ, उनीहरुले मेरो भारी उचाल्न खोजे, मैले तल गर, माथि होइन भनेर ‘उँधो, उँधो’ भनेँ, तर उनीहरुले तानेको तान्यै गरे’, भाषाको समस्याले पारेको आपद सुनाउँदै नर्वीनले भने । 

उकाली–ओराली, दिनरात गर्दै नौ दिनमा ती पर्यटकलाई गन्तव्यमा पुर्‍याएका नर्विनले पारिश्रमिक ९ हजार ७ सय रुपैयाँ पाए । बढीमा एक सय रुपैयाँ कमाएका उनको हातमा पहिलोपटक हजारको नोट परेको थियो । त्यो दिन सम्झँदै भन्छन्, ‘खुसीले आँखा रसाए ।’ कमाएको पैसा लिएर घर फर्किए । आमाबुबा, हजुरआमा र भाइलाई नयाँ लुगा किनेर खुशी बनाए । त्यसपछि पर्यटक पुग्ने होटल साहुसँग निरन्तर सम्पर्कमा रहेर काम गरे ।

जीवनका भोगाइले शिक्षित बनायो 

औपचारिक शिक्षा ६ कक्षासम्म भए पनि उनलाई अहिले अंग्रेजी भाषा बोल्न र लेख्न  समस्या छैन । पर्यटकसँगको संगत अनि प्रविधिको प्रयोगले आफू सक्षम भएको उनको भनाइ छ । दुई वर्ष भारी बोक्दै उकाली ओराली गरेका उनी सन् २०१२ मा काठमाण्डौ आए । काठमाण्डौमा उनले पथप्रदर्शकको विभिन्न तालिम लिए । त्यसपछि भरिया नर्विन पथप्रदर्शक बने ।

हिमालले सधैँ डाकेपछि नगई सुखै पाएनन् 

त्यो हिमाल, हिमालमा जमेको हिउँ अनि त्यहाँ बहने हावाले उनलाई सधैँ बोलाउँथ्यो । हिमालमा चढ्दा श्वासप्रश्वासमा समस्या आए पनि हिउँ र हावासँगको स्पर्शले नर्विनलाई उर्जा दिन्थ्यो । 

नर्विनले पहिलो पटक सोलुखुम्बुको आइसल्याण्ड पिक चढे । चुचुरोमा पुग्दा उनले तलको दृश्य डोकोले छोपेको केही कुरा जस्तो देखे । मन आनन्दित भयो । यो हिमाल उनले अहिले ९ पटक चढिसकेका छन् । 

हिमालको शिखरमा पुग्दा दुनियाँ भुल्ने गरेको उनको अनुभव छ । आरोहीको सहयोगी बनेर शिखरमा पुग्ने नर्विन ढुक्कसँग हिमाल चढ्न भने पाउँदैनन् । अरुलाई हात समातेर तान्दै, कतै बोक्दै, कतै उचाल्दै शिखरमा पुग्नुपर्छ । आरोहीलाई चढाउँदा चढाउँदै उनी पनि शिखरमा पुग्छन् र रमाउँछन् । 

हिमालको शिखरमा पुग्नको लागि आधार शिविरबाट उकालो लागेपछि नै ज्यानको माया हुँदैन । जुनसुकै बेला जे पनि हुनसक्छ । त्यहाँ आँधी आउँछ, हिमपहिरो खस्छ, जतिबेला पनि छोप्न सक्छ, चिप्लिएर लड्नु त सामान्य हो, कहिले चिप्लिएर धेरै तल झर्न सकिने नर्विनको अनुभव छ । समस्या झेल्दै शिखरमा पुग्दा रमाइको अनुभूति हुने उनी सुनाउँछन् ।

हिमाल चढ्ने लत बसेपछि नर्विनलाई सगरमाथाको चुचुरोमा पुग्न मन लाग्यो । सगरमाथाको चुचुरोमा पुगेपछि सातै महादेशका सर्वोच्च शिखर चुम्ने सपना देखे ।

हिमाल चढ्दा चढ्दै हिउँले ढाकेको शिखर कालो पहाडमा परिवर्तन हुन्छ कि भन्ने चिन्ता पनि उनलाई छ । ‘हिमाल जोगाऔँ’ नारा लिएर उनी प्रत्येक हिमाल चढ्छन् ।

आउँदो असार साउनसम्ममा सातै महादेशका हिमालको चुचुरोमा पुगेर विश्वकै कान्छो पर्वतारोही रेकर्ड बनाउने सपना पूरा गर्न नर्विन जुटेका छन् ।

 

अन्तिम अपडेट: भदौ २९, २०७६

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया