सरकारी विद्यालयको गुणस्तर वृद्धि गरे निजी क्षेत्र आफैँ हटेर जान्छ : प्रधानमन्त्री ओली

 माघ १, २०७५ मंगलबार १९:४१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको विद्यालयमा जानै नपर्ने गरी सरकारी विद्यालयको गुणस्तरमा वृद्धि गर्ने घोषणा गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको गुणस्तर वृद्धि हुने बित्तिकै निजी क्षेत्रको विद्यालय आफैँ हटेर जाने पनि स्पष्ट पार्नुभयो । मंगलबार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षा नीतिसम्बन्धी प्रतिवेदन बुझ्दै उहाँले सरकार निजी क्षेत्रको विद्यालयलाई प्रतिबन्ध लगाउने पक्षमा भने नरहेको पनि स्पष्ट पार्नुभयो ।

सरकारी विद्यालय गुणस्तरीय बनेपछि निजी विद्यालयमा कोही पनि नजाने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने पनि बताउनुभयो ।

देशलाई समृद्ध बनाउने गरी सरकारले शिक्षा नीति लिन आयोगको गठन गरेको उल्लेख गर्दै उहाँले आयोगले देशको आवश्यक्तालाई सम्बोधन हुने गरी प्रतिवेदन तयार पारेको विश्वास पनि व्यक्त गर्नुभयो ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदनमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउन सिफारिस गरिएको छ ।

आयोगका अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई बुझाइएको त्योे प्रतिवेदनमा निजी क्षेत्रको विद्यालयलाई सेवामूलक बनाउन सिफारिस गरिएको जानकारी दिनुभयो । प्रतिवेदनले सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने र सरकारी कर्मचारी सबैका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

आयोगको प्रतिवेदनमा देशलाई समृद्ध बनाउने गरी प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया