काेहलपुरमा पाँच दिनअघि भएकाे हत्याकाे आरोपमा दुईजना पक्राउ

 माघ २, २०७५ बुधबार १८:४५:४६ | गोविन्द शर्मा

बाँके - बाँकेको कोहलपुरमा पाँच दिनअघि हत्या गरिएका दिपक सिंह ठकुरीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न बाँके राप्ती सोनारी-२ का २१ वर्षीय जिरे भन्ने युवराज गिरि र अछाम हिस्मा गाउँपालिकाका २२ वर्षीय भरत बहादुर शाहीलाई पक्राउ गरेको जानकारी दिएको हो ।

बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार शाहीलाई सुर्खेतको सालकोटबाट मंगलबार र गिरिलाइ बर्दियाको खाता जंगलबाट बुधबार पक्राउ गरिएको हो । सुरक्षा घेरा तोडेका गिरिलाइ प्रहरीले पक्राउका लागि गोली चलाउनु परेकाे जनाएको छ ।

बायाँ खुट्टाको घुँडामुनी गोली लागेका गिरिको शिक्षण अस्पतालमा उपचार भैरहेको छ । मृतक सुर्खेत सिम्ता गाउँपालिका २ काफलकोटका दिपक सिंह ठकुरीले प्रहरी बन्न भरतलाई रकम दिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीमा भर्ना हुन आएका दिपकले शारीरिक परीक्षा उत्तीर्ण गरी मेडिकल परीक्षाको नतिजाको पर्खाइमा रहेकाे बताइएकाे छ । दिपकको शव पुस २८ गते बिहान कोहलपुर बसपार्कपछाडि फेला परेको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया