सरकारले दुर्गम भेगका १६ जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने

 माघ ६, २०७५ आइतबार १९:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले दुर्गम भेगका १६ वटा जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले डडेलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, इलाम, पाँचथरलगायतका १६ वटा दुर्गम जिल्लाहरुमा पनि डायलाईसिस सेवा विस्तार गर्ने योजना अघि सार्नुभएको हो ।

आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले देशका सबै भागमा सो सेवा विस्तार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

सरकारले संचालन गरिरहेको निःशुल्क ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ अन्तरगत चालू आर्थिक वर्षभित्रै दुर्गमका १६ वटा जिल्लामा पनि डायलाइसिस सेवा विस्तार गर्ने योजना रहेको राज्यमन्त्री यादवको भनाइ छ ।

राज्यमन्त्री यादवले सो सेवालाई विस्तार गर्न अर्थ मन्त्रालयसँग थप १ अर्ब २५ करोड माग गरिएको पनि स्पष्ट पार्नुभयो । सरकारले चालू आर्थिक वर्षका लागि सो कार्यक्रमका लागि १ अर्ब १० करोड २३ लाख बजेट विनियोजन गरेको थियो ।

त्यसमध्ये अब ६ करोडमात्रै बाँकी रहेको पनि राज्यमन्त्री यादवले बताउनुभयो । उहाँले पर्याप्त बजेट र जनशक्तिको अभावमा त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको पनि समितिलाई जानकारी गराउनुभयो ।

 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया