यूएईविरुद्धकाे पहिलाे एक दिवसीय: ब्याटिङ नचल्दा नेपाल ३ विकेटले पराजित

 माघ ११, २०७५ शुक्रबार १७:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

युएईविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । 

११४ रनको लक्ष्य पछ्याएको यूएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ हुँदा अस्फाक अहमदलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए ।

चिराग सुरीलाई सोमपाल कामीले आउट गर्दा यूएईको स्कोर १२ रन थियो । ३५ रन हुँदा शाइमान अनवरलाई गुमाएको यूएईमाथि नेपालले केही दबाब दिएको थियो । चौथो विकेटको रुपमा मुहम्मद उस्मान आउट हुँदा पारस खड्काले पहिलो विकेट लिएका थिए ।

त्यसपछि लगातार अर्को छेउबाट लेग स्पिनर सन्दिप लामिछानेले बलिङ गर्न लगाएका थिए । 

पाचौं विकेटको रुपमा फहद नवाजलाई सन्दिपले आउट गरेका थिए । छैटौ सफलता पनि सन्दिपलेनै दिलाए । उनले यूएईबाट सर्वाधिक ३० रन बनाएका गुलाम शब्बरलाई आउट गरेका थिए । 

सातौं विकेटको रुपमा पारसले मोहमद बूतालाई बसन्त रेग्मीबाट क्याच गराएर पेभेलियन फर्काएका थिए ।

७ विकेट गुमाउँदै ७३ रन बनाएको यूएईका लागि अमिर हयात र इमरान हैदरले पारी सम्हालेपछि यूएई ३ विकेटले विजयी हुन सफल भयो ।

हयात २४ र हैदर १८ रनमा नट आउट रहे । 

नेपालका पारस खड्का, करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए ।

यस्ताे थियाे नेपालकाे पारी

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रन बनाउँदै अल आउट हुन पुग्यो ।

नेपालको ब्याटिङ आज पनि चल्न सकेन । नेपालका नियमित बलर सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० तथा सन्दीप लामिछानेले १५ रन बनाए ।

ओपनिङमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बलकाे सामना गरेर गर्दा खाता नै नखोली आउट भएका थिए ।

दोस्रो विकेटको रुपमा अर्का ओपनर विनोद भण्डारीले पनि उत्कृष्ट पारी खेल्न सकेनन् । उनले १४ बल खेल्दा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । त्यसपछि क्रिजमा आएका पारस खड्का र सोमपाल कामीले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए ।

तर टिमको स्कोर ४४ रन हुँदा कप्तान खड्का व्यक्तिगत २० रन बनाएर पेभेलियन फर्किए ।

त्यसपछि दीपेन्द्रसिंह ऐरी खाता नै नखोली रन आउट भएपछि नेपाल झनै दबाबमा आएको थियो । एउटा छेउबाट ब्याटिङ सम्हालेका सोमपाल कामी नेपालको स्कोर ७१ रन हुँदा आउट हुन पुगेपछि नेपालको पारी पूरै धरमराएको थियो । 

त्यसपछि पवन सर्राफ, करण केसी र बसन्त रेग्मी लगातार आउट भएका थिए । पवनले ४ रन बनाउँदा करणले ३ तथा बसन्त रेग्मीले खाता खोल्न सकेनन् ।

नेपालका लागि दोस्रो ठूलो व्यक्तिगत रन बनाउने क्रममा आरिफ शेखले २५ रन बनाए । यसैगरी अन्तिम खेलाडीको रुपमा सन्दीप लामिछाने १५ रन बनाएर आउट भएपछि नेपाल ११३ रनमा समेटिएको थियो ।

यूएईका लागि मोहम्मद नाभिद र अमिर हयातले तीन-तीन विकेट लिँदा र इमरान हैदरले समान दुई तथा कादीर अहमदले १ विकेट लिए ।
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया