संघीय सरकारले ल्याएको आन्तरिक सुरक्षासम्बन्धी विधेयक मान्य हुँदैन: मुख्यमन्त्री राउत

 माघ १२, २०७५ शनिबार १८:११:२७ | उज्यालो सहकर्मी

काठमाण्डाै - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरी परिचालन र आन्तरिक सुरक्षासम्बन्धी विधेयक मान्य नहुने चेतावनी दिनुभएको छ ।

संघीय सरकारले प्रमुख जिल्ला अधिकारीले नै प्रहरी परिचालन गर्नेगरी सो विधेयक ल्याएकोमा मुख्यमन्त्री राउतको आपत्ति छ । शनिबार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रदेश सरकारसँग समानान्तर गतिविधि हुनेगरी संघीय सरकारले प्रमुख जिल्ला अधिकारमार्फत् शासन चलाउने कोशिस गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

संविधान र प्रचलित कानुन विपरीत संघीयतालाई समाप्त पार्नेगरी आएको सो विधेयक प्रदेश २ को सरकारलाई स्वीकार्य नहुने मुख्यमन्त्री राउतको चेतावनी छ ।

मुख्यमन्त्री राउतले माघपछि जन्मने सबै बालिकाहरुलाई एक लाखको बीमा गरिदिने प्रदेश सरकारको योजना पनि सार्वजनिक गर्नुभयो । उहाँले बालिकाहरुलाई उचित शिक्षाको व्यवस्था गर्न पनि प्रदेश सरकारले भर्खर जन्मेका शिशुलाई बीमा गरिदिने योजना सार्वजनिक गरेको स्पष्ट पार्नुभयो ।

बीस वर्ष पूरा भएपछि झिक्ने व्यवस्थासहितको सो बीमाले २० वर्षअघि कम उमेरमै विवाह गर्ने सामाजिक कुरीतिको पनि अन्त्य हुने मुख्यमन्त्री राउतको विश्वास छ ।

फागुनको पहिलो साता सुरु हुने बीमा योजना यही माघपछि जन्मने बालिकाहरुलाई प्रदान गरिनेछ । पहिलो चरणमा प्रदेशभित्रका ८ वटै जिल्लाका २-२ वटा पालिकामा प्रारम्भ हुने कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्नुहुने पनि मुख्यमन्त्री राउतले जानकारी दिनु भयो ।

मुख्यमन्त्री राउतले स्रोत, साधन र कर्मचारीको अभावमा प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसकेको गुनासो पनि गर्नुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया