हिमालले खोसेको खुसी खोज्न हिमालमै जाने तयारीमा दुई एकल महिला

‘सगरमाथाको चुचुरोमा पुगेर चिच्याउँदै भन्न मन छ – हामी पनि सक्छौं’

 माघ १३, २०७५ आइतबार ११:०:५५ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

‘श्रीमान हिम पहिरोमा परेको एक वर्ष त आँशुमै बित्यो, त्यसपछिको चार वर्ष बाँच्ने संघर्षमा, अबचाहिँ हामीजस्ता हिमालमा श्रीमान गुमाउने एकल महिलाका लागि संघर्ष गर्नुछ, सुरुवात सगरमाथाको शिखरबाट गर्ने हो’ ३४ वर्षकी निमा शेर्पाले भन्नुभयो । उहाँको यो भनाइमा समर्थन जनाउँदै सँगै रहेकी ४२ वर्षकी फुरदिकी शेर्पाले थप्नुभयो ‘श्रीमानले ज्यान गुमाएको ठाउँ एक पटक हेर्ने मन छ अनि श्रीमानको पाइलामा स्पर्श गर्दै उहाँको पुनर्जन्मको कामना गर्नुछ ।’ 

फुरदिकी र निमा दुबै जना सगरमाथामा पति गुमाएका एकल महिला हुन् । उनीहरु आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । हिमालमा पति गुुमाउने एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियानको शुरुवात गर्न सगरमाथा चढ्न लागेको उनीहरु बताउँछन् । 

फुरदिकीका पति मिङमार शेर्पाले सन् २०१३ मा सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा परेर ज्यान गुमाएका हुन् भने निमा शेर्पाका श्रीमान छिरिङ वाङ्छु शेर्पाले सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोमा परेर ज्यान गुमाउनु पर्‍यो । उनीहरु दुबैजना सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका ४ का बासिन्दा हुन् । 

खुम्जुङमा सानो चिया पसल, चार/पाँचवटा याक अनि हिमालमा बाटो बनाउने श्रीमानको कमाइ, फुरदिकीका तीन छोरीसहित पाँच जनाको परिवार खुसी थियो । खेतीपातीमै रहेकी निमा शेर्पाका एक छोरो र एक छोरीसहित चारजनाको परिवार पनि खेतीपाती र हिमालको कमाइबाट रमाइरहेको थियो । 

तर सन् २०१३ मा फुरदिकी र सन् २०१४ मा निमाको परिवारमा परेको बज्रपातले खुसी खोसेर लग्यो । उनीहरु भन्छन् ‘हिमालले खोसेको खुसी खोज्न हिमालमै जान्छौं ।’

एक वर्षअघि ट्रेकिङका सिलसिलामा सगरमाथा आधार शिविर पुग्दा पति र हिमालमै ज्यान गुमाएका पिता, आइसफल डाक्टर (हिउँमा बाटो बनाउने) आङ ङिमा शेर्पालाई सम्झेर घण्टौं आँसु बगाएकी फुरदिकी आफन्तले ज्यान गुमाएको ठाउँमा पुग्दा पीडा हुने भए पनि शोकलाई शक्तिमा बदलेर शिखर चुम्ने बताउनुहुन्छ ।

आफन्त वियोगको पीडा र बाँच्नका लागी गरिएको संघर्षबाट खारिएका उनीहरुको अभियानको नारा छ, ‘हामी पनि गर्न सक्छौं’ । एकल महिला सँधै शोकमा बस्ने हैन शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने उनीहरु शिखरमा पुगेर यही सन्देश बाँड्ने बताउँछन् । 

सगरमाथा आरोहणका लागि आवश्यक पर्ने प्रतिव्यक्ति झण्डै ४० लाख रुपैयाँ संकलन गर्न यतिबेला उनीहरुलाई धपेडी छ । विभिन्न व्यक्ति र संस्थामा धाइरहेका उनीहरु हिमाल चढ्ने तालिम पनि लिइरहेका छन् । 

दुबैजनाले गएको मंसिरमा सोलुुखुम्बुमा रहेको ६१८९ मिटर अग्लो आइसल्याण्ड र कात्तिकमा मनाङमा रहेको ६५८४ मिटर अग्लो चोलु इष्टको सफलतापूर्वक आरोहण गरेका छन् । मानसिक र शारिरीक रुपमा आफूहरु सगरमाथा आरोहणका लागि पूर्ण तयारीमा रहेको र खर्चको जोहो गर्न लागेको उनीहरु बताउँछन् । 

सगरमाथाको आधार शिविर फुरदिकी र निमाका लागि परिचित ठाउँ नै हो । हिमाल आरोहणको मौसममा जोक्पे लिएर श्रीमानसँगै कैयौँ पटक आधार शिविर पुगेको अनुभव पनि उनीहरूसँग छ । 

केही वर्षको काठमाण्डौ बसाइ, अभाव र बाँच्नका लागि हिमालमा गरेको संघर्षले श्रीमानले देखाएको बाटोमा लाग्ने प्रेरणा मिलेको फुरदिकी बताउनुहुन्छ ।  आत्मविश्वाससहित फुरदिकी थप्नुहुन्छ, ‘पीडालाई साहस र शक्तिमा बदल्नेछौँ ।’

एकल महिला पनि सक्षम र साहसिक हुन्छन् भन्ने सन्देश फैलाउन र एकल महिलाका लागि प्रेरणाको स्रोत बन्ने दुबैजनाको लक्ष्य छ ।

फुरदिकीका छोरीहरुलाई पढाउनका लागि स्पोन्सर गरेर विदेशीहरुले अमेरिका लगेका छन् भने निमाको छोरालाई हिमालयन ट्रष्ट र छोरीलाई एकजना आफन्तले पढाइरहेका छन् । आफू बाँच्नको लागि संघर्ष गर्दै रहेका उनीहरु अब एकल महिलाका लागि संघर्ष गर्ने बताउँछन् । 

सगरमाथाको शिखरमा पुगेर फर्केपछि सगरमाथालगायत हिमालयमा ज्यान गुमाउनेका श्रीमतीहरुलाई संगठित गर्दै संस्था खोल्ने उनीहरुको योजना छ । शोकले कोठामै दिन कटाइरहेका एकल महिलाहरुलाई विभिन्न सीप र योजना दिएर संघर्षको मैदानमा उतार्ने लक्ष्य लिएका उनीहरु महिला पनि कमजोर नरहेको बताउँछन् । 

सामाजिक संरचनाले पनि एकल महिला बाँधिएका छन् । निमा भन्नुहुन्छ, ‘बाहिर कसैसँग बोल्यो वा काम गर्न हिँड्यो भने कुरा काटिन्छ, त्यही डरले बस्यो भने जिन्दगी पीडामै बित्छ, बाँच्न त बाहिर निस्कनै पर्छ नि । हामी एकल महिलालाई बाहिर निस्कन पे्ररित गर्छौँ ।’ 

नेपालमा हिमाल घुम्नकै लागि ठूलो संख्यामा विदेशीहरु आउँछन्, उनीहरुलाई घुमाउने शेर्पाका पीडा पनि उत्तिकै छन् । फुरदिकी भन्नुहुन्छ, ‘सरकारले हामी शेर्पाहरुलाई हेलाँ गरेको छ, हिमालमा विदेशी घुमाएर देशको अर्थतन्त्र बढाएका छौं तर सरकारको हेराइमा हिमालमा शेर्पा र सडकमा कुकुर मरेको उस्तै छ जस्तो लाग्छ, ।’ 

‘हिमालमा ज्यान गुमाउनेका परिवारका पीडाको बारेमा आजसम्म कुनै मन्त्रीले बोलेको सुन्नुभएको छ ?’ निमाले प्रश्न गर्नुभयो ।

‘अहिले आफूहरुको अभियानका लागि धेरै सरकारी निकायको ढोका ढक्ढकायौं अनि श्रीमानले काम गर्ने संस्था सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम्चेलाई पनि धेरै अनुरोध गर्‍याैँ, तर सहयोग हैन सफलताको कामना समेत पाएका छैनौं’ फुरदिकीले दुखेसो पोख्नुभयो ।

सगरमाथा चढ्नु सजिलो छैन भन्ने उनीहरुलाई राम्रोसँग थाहा छ । उचाईमा हुने समस्या, चिप्लो हिउँ, ठाउँठाउँमा भएका खर्पस, खाल्डा, हिमपहिरो, हावाहुरी यी सबै चुनौती हुन् । मानसिक रुपमा सबै चुनौती स्वीकार भएको र दुबैजनाको नाममा संयुक्त खाता खोलेर रकम संकलन गरिरहेको उनीहरु बताउँछन् । 

श्रीमान गुमाएपछि धेरै महिलाहरु पीडामा बाँचिरहेका छन् भने संघर्षमा उत्रिएकाहरु सफल पनि भएका छन् । बाँच्नकै लागि भारी बोकेर हिमालतिर दौडिरहेका फुरदिकी र निमा अहिले हिमालमा पति गुमाउने एकल महिलाका लागि काम गर्ने अभियानमा छन् । भन्छन्, ‘शोकमा डुबेकाहरुलाई संघर्षको सीप दिएर मैदानमा ल्याउने यो अभियानमा सबैको साथको अपेक्षा छ ।’
 

अन्तिम अपडेट: चैत २१, २०७५

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया