आबुधाबीमा अलपत्र परेका साढे ७ सय कामदारले पाए ५० प्रतिशत रकम

 माघ १४, २०७५ सोमबार १४:१५:२७ | उमाकान्त पाण्डे

यूएई – यूएईको आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले आइतबारबाट कामदारलाई तलब दिन थालेकाे छ। 

काम गरेको महिनाको तलब नदिई कम्पनीका सञ्चालक जोर्डनका नागरिक यूएई छोडेर भागेपछि नेपालीसहित साढे ७ सय कामदार अलपत्र परेका थिए ।

जार्डनका नागरिकसँगै कतारका व्यक्तिको पनि यो कम्पनीमा लगानी रहेको बुझिएको छ । कतारका नागरिक पनि यूएई छोडेर भागिसकेका छन् । अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएर विकल्पसहित आफू कामदारको अधिकारको पक्षमा रहेको बताएको थियो । 

यहाँको सरकारले श्रम तथा मानव संसाधन मन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन तथा छानविन टोली बनाएर कम्पनीमा अलपत्र परेका कामदारलाई खाना, बस्न सहित उनीहरुको स्वास्थ्यको समेत जिम्मा लिएको थियो । 

अध्ययन टोलीले समस्यामा परेका कामदारको अधिकारका लागि मोबाइल कोर्ट मार्फत मुद्दा हेर्ने व्यवस्था पनि गरेको छ । कामदारलाई उनीहरुले पाउनु पर्ने सबै रकम दिलाउन मोबाइल कोर्टमा मुद्दा दायर गर्न, कम्पनीले काम गरेको समयको नदिएकोमध्ये ५० प्रतिशत रकम लिएर स्वदेश फर्किन तथा कम्पनीले खटाउने काममा फर्किने विकल्प समेत दिइएको छ । 

आबुधाबीमा रहेको नेपाली दूतावासले कामदार समस्यामा परेको जानकारी पाएलगत्तै कम्पनीको क्याम्पमै पुगेर कामदारलाई आफ्नो विकल्प रोज्न अनुरोध गरेको थियो । कम्पनीमा समस्यामा परेका भारत , बङ्लादेश, फिलिपिन्स, श्रीलङ्का, इजिप्ट, नाइजेरिया लगायतका कामदारका बिषयमा यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँका सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेका थिए ।

‘कामदारले ब्याक्तिगत अधिकार अनुरुप उपयुक्त विकल्प रोज्न सक्छन’  यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले भन्नुभयो । ती विकल्पमध्ये धेरै कामदारले ५० प्रतिशत रकम बुझेर स्वदेश फर्किने प्रक्रिया थालेका छन् ।

‘आइतबार १९ जना नेपालीले पैसा पायौं, सोमबार २६ जनाले पैसा पाउँदैछौं’ पीडित रमेश बहादुर महराले उज्यालोसँग भन्नुभयो । मंगलबार पहिलो चरणमा थप ९० जना नेपालीको नाम पैसा पाउनेको सूचीमा छ । 

‘पाउनुपर्ने रकमको आधा पाउने आशा पनि थिएन’ महराले भन्नुभयो ‘त्यति पाउँदा पनि खुशी छौं’  महराले भन्नुभयो । कम्पनीमा समस्या सुरु भएपछि नेपाल तथा सम्बन्धित देश फर्किएका कामदार पाउनुपर्नेमध्ये आधा रकम पाउने भएपछि यूएई नै पुगेका छन् । पाउनुपर्ने रकम सबै कामदारले पाएपछि समूह बनाएर उनीहरुको देश पठाउने तयारी कम्पनीले गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया