अपांगता भएकाको लागि घरमै शिक्षक, उनीहरु भन्छन : अब केही गर्ने आत्मबल बढ्यो ।

 माघ १९, २०७५ शनिबार १३:५२:३४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - दशरथचन्द नगरपालिकाको एक वडामा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै शिक्षक रोखेर पढाउने व्यवस्था भएको छ ।

अहिले वडा न २ को कार्यालयको पहलमा २२ वर्षीया हिरा र १५ वर्षीया करिश्मालाई घरमै शिक्षक राखेर पढाउने व्यवस्था मिलाइएको छ । दशरथचन्द नगरपालिका वडा न २ देहिमाण्डौका पूर्णबहादुर बोहराका अपांगता भएका छोरीहरुलाई घरमै पढ्ने व्यवस्था गरेको हो । उनीहरु पटक्कै हिँडडुल गर्न नसक्ने भएकाले पठनपाठनका लागि घरमै शिक्षकको व्यवस्था गरिएको छ ।

वडा कार्यालयले घरमै शिक्षकको व्यवस्था गरिदिनका लागि पहल गरेपछि  शिक्षा विकास तथा समन्वय इकाई बैतडीले शिक्षक घरमै गएर पढाउने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । 

अहिले हिरा र करिश्मालाई दैनिक दुई घण्टा घरमै पढाउने गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । करिश्मा कक्षा १० मा अध्ययन गर्छिन् भने हिरा कक्षा ५ मा अध्ययनरत छिन् । 

घरमै शिक्षकको व्यवस्था गरी छोरीहरुलाई पढाउन पाउदाँ आफू निकै खुशी भएको र घरमा नै सरकार आएको महसुस भइरहेको उहाँहरुका बुवा पूर्णबहादुर बोहराले बताउनुभयो । 

‘छोराछोरी अपांगता भएकाले शिक्षा लिन नपाउँदा उनीहरुको अवस्था दिनप्रतिदिन बिग्रदै गएको थियो तर अहिले शिक्षक घरमै आएर पढाउँदा आफ्नो दुःख कम भएको छ’, उहाँले बताउनुभयो । 

पूर्णका कान्छा छोरा पनि आपांगता भएकाले उनलाई भने आफैले पिठ्ँयूमा बोकेर विद्यालय पुर्‍याउने गरेको उहाँले बताउनुभयो । उनीहरु शारिरिक रुपमा अपांगता भएपनि पढाइमा भने राम्रो रहेको उनका बुवा बताउनुहुन्छ । आफूहरु हिँडडुल गर्न नसक्ने भएपनि घरमै पढ्न पाउँदा पढेर केहि गर्ने इच्छा पलाएको अपांगता भएका करिश्मा र हिराले बताउनुभयो ।

घरमै शिक्षकको व्यवस्था गरी पढाउने कार्यमा निङ्गलाशैनी विद्यालय व्यवस्थापन समिति, शिक्षा विकास तथा समन्वय इकाई र वडा कार्यालयले भूमिका खेलेको वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थीले हिरा र करिश्मालाई पढाइ खर्चका लागि १० हजार रुपैयाँ प्रदान गर्नुभयो । कलिला किशोरीहरुको यस्तो अवस्था देखेर शिक्षाबाट वञ्चित नहुन् भनि यो रकम सहयोग गरेको अवस्थीले बताउनुभयो । उनीहरुको शिक्षा र स्वास्थ्यको लागि आफूले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।  

पूर्णबहादुरका ४ छोराछोरी मध्ये ३ जना अपाङगता भएका छन् । जन्मदा केही समस्या नभएपनी ठूलो हुँदै जाँदा उनीहरु हिँडडुल गर्न नसक्ने भएका पूर्णबहादुर बोहराले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया