मौसमी तथ्याङ्क लिने बेलून उडाइयो

 असार ६, २०७५ बुधबार १९:१२:४४ | रासस

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा आज मौसमी बेलून उडाइएको छ । 

कीर्तिपुरबाट बिहान ५ः३७ बजे पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान ५ः३० बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिनुभयो । 

आज उडाइएको बेलून १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान ८ः१५ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । 

बेलूनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउने उहाँले बताउनुभयो । आज उडाइएको मौसमी बेलून उड्दाको सरदर गति ६ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड रहेको थियो । 

बेलून झर्दा त्यसमा झुण्डाइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यसरी प्रयोग भइसकेका बेलून कसैले फेला पारेमा विभागमा पु¥याइदिन वा सम्पर्क गर्न जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

यससम्बन्धी सूचना उडाइएको उपकरणमा टाँस गरिएको विभागले जनाएको छ । माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलून उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने विश्वास विभागले लिएको छ । 

आजको मौसमी बेलूनको उडानको शुभारम्भ त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले संयुक्त रुपमा गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया