ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
केपी शर्मा ओली नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले एक वर्ष पूरा गर्दै छ । दुई तिहाई बहुमतको ओली नेतृत्वको सरकारको यो एक वर्ष खासै उपलब्धिमूलक रहन सकेन ।
यति लामो राजनीतिक संक्रमण पूरा गरेपछि प्रचण्ड बहुमत सहितको एउटा प्रष्ट नारा र चुनावका बेलाको हिसाबले हेर्दा त एउटा भिजन पनि लिएर आएको भनिएको सरकारको एक वर्षे समय पनि यत्तिकै बित्ने रहेछ भन्ने देखायो । केही नगरी कसरी एक वर्ष बितायो भनेर यसले सबैलाई आश्चर्य बनाएको छ ।
पहिलेका सरकारसँग तुलना गर्ने हो भने त्यसैको पुनरावृत्ति पो रहेछ भने जस्तो देखायो । कतिपय काम गराई हेर्दा त विगतका सरकारभन्दा पनि कमजोर रहेको देखियो । लामो संक्रमण चिरेर दुई तिहाइको सरकार आएको भनियो । तर यो सरकारले आफ्नो चरित्र के हो भन्नेबारे कहिल्यै परिभाषित गरेन । गर्न पनि उचित ठानेन । हुनत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्ने पार्टीको चरित्र के हो भन्ने नै थाहा छैन । त्यसैको अध्यक्षको नेतृत्वमा गठन भएको सरकार भएर पनि होला यसको पनि चरित्र स्पष्ट हुन सकेन ।
सरकारको आर्थिक नीति हेर्ने हो भने विगतको तुलनामा कुनै फरक छैन । सरकारको बाटो कुन हुने हो भन्नेमा उही पहिलेको जे हो त्यही छ । आफूले गर्ने भिजन के हो त्यो पनि आएन । म्याण्डेटको हिसाबमा, स्थायित्वको सन्देश दिने हिसाबमा यो सरकार फरक भएर आएकै थियो । तर सँगसँगै यो कुन खालको सरकार हो भन्ने प्रश्न पनि उठेर आयो ।
हुन त यो सरकार लोकतान्त्रिक बाहेक अर्को चाहिँ होइन । त्यसमा प्रश्न उठाएको होइन । तर यो कम्युनिष्ट पार्टीको लोकतान्त्रिक सरकार हो । कम्युनिष्ट पार्टीले चुनाव जितेर आएको लोकतान्त्रिक सरकार हो । तर भिजनको हिसाबमा पहिलेको सरकार भन्दा फरक के भनेर यो सरकारले भन्न सकेन । अनि काम पनि देखाउन सकेन ।
यो सरकार पहिलेकै र पुरानै बाटोमा हिँड्दा पनि केही खास कामहरु गर्न सक्ने अवस्था थियो । किनकी आफूसँग दुई तिहाईको सुविधा थियो । धमाधम राम्रा कामहरु गर्न सक्थ्यो । तर अहिलेको स्थिति हेर्ने हो भने सरकारको कामबाट नागरिकमा नैराश्यता बाहेक केही देखिँदैन ।
भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइन्छ भनेर केपी शर्मा ओलीले प्रधानमन्त्री भए लगत्तैबाट भनेको भन्यै गर्नुभएको थियो । प्रधानमन्त्रीले अलि जोड दिएर भनेको भएर पनि यसमा परिणाम देखिन्छ कि भन्ने थियो । तर भ्रष्टाचार न्यूनिकरण गर्ने त पर जाओस झनै मौलाउन थालेको हो कि भन्ने भान परेको छ ।
त्यस्तै सरकारको टिम मजबुत भएर नागरिकले अनुभूत गर्ने सेवा प्रवाहमा चुस्तता आउला भन्ने थियो । त्यो पनि हुन सकेन । सेवा प्रवाह गर्ने क्वालिटीमा फरक ल्याउन सकिन्थ्यो त्यसमा पनि केही फरक देखिएन । यस हिसाबले दुई तिहाईको सुविधाजनक मत भएको सरकारको एक वर्ष ख्यालख्यालमै बितेको जस्तो लागेको छ ।
आर्थिक सूचकांकको हिसाबले, लगानीको हिसाबले हेर्ने हो भने पनि सरकारको एक वर्ष विशेष रह्यो भन्न सकिने अवस्था छैन ।
सरकारको सफलता उसको क्षमतामा निर्भर रहन्छ । जब सरकारको नेतृत्व गर्ने व्यक्तिको क्षमता नै कमजोर रहन्छ तब त्यहाँ सरकारको सफलता भेटिंदैन । होला सरकारमा रहनेहरु राजनीतिक आन्दोलन हाँकेर आएकाहरु हुनुहुन्छ । त्यसका लागि जेल नेल खेपेर आउनु भएको छ । तर सरकार चलाउनका लागि वा भनौँ देश सञ्चालन गर्नका लागि चाहिने एउटा निर्दिष्ट भिजन भने देखिन्न ।
आर्थिक भिजन, रोजगारीका कुराहरुको स्पष्ट नीति होस जहाँ ६० लाख युवाहरु विदेशमा गएर पसिना बगाउन बाध्य छन् । उनीहरुलाई रोक्ने योजना अहिलेसम्म आउन सकेको छैन । कुरा चाहिँ ठूला ठूला गर्ने तर प्रगति खोज्दा शून्य जस्तै छ । नेपालको परिचय नै मजदुर निर्यात गर्ने बनेको छ । यसलाई रोक्ने कसैसँग ठोस योजना नै छैन । यो भनेको राजनीतिक आन्दोलन मात्रै हाकेको भरमा सरकार सञ्चालन गर्ने योग्यता पुग्दैन रहेछ भन्ने प्रमाण हो ।
अर्को भनेको हाम्रो देशका राजनीतिक पार्टीहरुको धरातल के छ भन्नेले पनि प्रभाव पार्छ । पोलिसीको हिसाबमा, कार्यक्रमको बारेमा पार्टीहरुमा कहिल्यै विचार विमर्श भएको सुनिन्न । पार्टीको आर्थिक नीति कस्तो हुने, रोजगारीको सन्दर्भमा के हुने अथवा कृषिका बारेमा के हुने भन्ने बारेमा पार्टीभित्र विचार विमर्श नै नभएको देखिन्छ । यस बारेमा पार्टीमा होमवर्क नै हुँदैन ।
अनि मन्त्री बनेकाहरु पनि आफ्नो मन्त्रालयको काम के हो ? कसरी काम गर्ने भन्ने बारेमा कुनै विज्ञता नै नहुनुले पनि प्रगति शून्य देखिन पुगेको हो । मन्त्रीको विज्ञतासँग मन्त्रालयको सम्बन्ध नै नहुनु । प्रायःजसो नेताहरु कस्ता छन् भने जेल नेल भोगेको आन्दोलन हाँकेको योग्यताको आधारमा मात्रै आएका छन् ।
सँगसँगै विज्ञहरु कस्ता चाहिन्छन्, कस्ता ल्याएर काम गर्ने भन्नेसम्म पनि उनीहरुलाई जानकारी छैन । कतिपय विज्ञहरु पनि मन्त्रीलाई गएर हजुरले भने जस्तै हो भनेर उचालिदिने प्रवृत्तिले काम हुन नसकेको देखिन्छ ।
सरकार गठन भएको पहिलो दुई तीन महिना त दम्भ देखाउँदै बित्यो । यो सरकार बनिदियो, नेपाली नागरिक त्यसैमा गौरब गर्नु पर्छ भन्ने जसरी प्रधानमन्त्री तथा मन्त्रीहरुले नै भाषण गर्दै हिँडे । उपलब्धी नै के त भन्दा दुई तिहाईको सरकार बन्यो रे । यो त एउटा माध्यम पो हो त ।
तर भनियो यसरी कि दुई तिहाईको सरकार बनिसक्यो अझै प्रश्न गर्ने ? के हुनु पर्छ भनेर ? यही नै हो उपलब्धि भन्ने खालको कुरा सुरुमा गरियो । तर त्यसपछि काम त देखाउनु पर्यो । त्यो बेलामा भने उनीहरुको हैसियत छर्लङ्ग देखियो । अर्थात काम त शून्य जस्तै पो देखियो ।
आफ्नो क्षमता कहाँ नपुगेको रहेछ भनेर समीक्षा गर्ने विनम्रता यो सरकारमा सुरुबाटै देखिएन । नागरिकले दिएको म्याण्डेटलाई अहंकारको रुपमा लिएको देखियो ।
अहंकार यति धेरै कि पार्टी भित्रकालाई पनि देखाउने प्रवृत्ति रह्यो । अनि बाहिर पनि यसो भइदिए हुन्थ्यो भन्ने सर्वसाधारण वा टिप्पणी गर्ने, लेख्नेहरुलाई पनि हामीमाथि प्रश्न गर्ने ? भनेर दम्भ देखाईयो । तर सरकारले आफैले आत्मालोचना गरेर कमजोरी के हो भनेर हेर्न सकेन ।
के–के गर्न सकिएन भन्नेबारे समीक्षा गरेर यो गर्न सकिएन भनेर स्वीकार गरेर अघि बढे सुधार हुने अवस्था देखिन्छ । तर गर्न सकेकै छैन भनेर स्वीकार्ने अवस्था रहेन भने यस्तै दम्भमै रुमल्लिएर यो सरकारको बाँकी अवधि पनि सकिनेवाला छ । अर्को कुरा कतिपय मन्त्री र मन्त्रीका सल्लाहकारहरु सानोतिनो कामलाई पनि सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा हालेर मख्ख पर्ने प्रवृत्तिका देखिन्छ । मानौ उहाँहरुले भयंकर ठूलो काम गर्नु भएको छ ।
पुल उद्घाटन भयो, बाटो शिलान्यास गरियो जस्ता साधारण कुराहरुमै उनीहरु अल्झेर बसेका छन् । यो त जुन सरकारका मन्त्री वा सरकारका पालामा दिनानुदिन गर्ने खुद्रा काम हो । ठूलो भिजन सहित काम गरेर देखाउँ भन्ने चाहिँ देखिन्न ।
यो अवधिमा सरकारले देखिनेगरी केही पनि गर्न सकेन । ऐन, कानुनहरु बनाउने कुराहरु गरेको छ । यो भनेको अन्य अल्पमत भएका र विगतका प्रकृतिका सरकारले पनि बनाउन सक्थ्यो । दुई तिहाईको सरकारले के-के न गर्ला भन्ने आशा नागरिकमा थियो ।
दिनानुदिन क्रियाकलापमा नै सहजता आउने छ भन्ने नागरिकमा आशा थियो । महंगी, भ्रष्टाचार, सरकारी काममा हुने सेवामा चुस्तता, स्वास्थ्य सुविधा, रोजगारी जस्ता आधारभूत कुराहरुबिना कुनै झण्झट पाइएला भन्ने आशा थियो । तर यस्ता कुराहरु सरकारको प्राथमिकतामा परेन । बरु रेल कुदाउने र पानीजहाज ल्याउने भनेर ठूला गफ चुट्नै सरकार व्यस्त भयो ।
रोजगारीको यो भिजन छ भनेर सरकारले भन्न सक्नुपर्थ्याे । अन्तर्राष्ट्रिय रुपमा लगानी बढाउन हाम्रो प्रष्ट भिजन छ भनेर भन्न सक्नुपर्थ्याे, तर कहिल्यै भन्न सकेन । परराष्ट्र नीतिमा पनि के हो भन्ने स्पष्टता दिन सकेको छैन ।
सुरुवाति समयमा भारत र चीनबीचको छिमेक सम्बन्ध सुदृढ पार्ने सम्बन्धमा राम्रै काम गरेको थियो । तर पछिल्लो समयमा त्यसमा पनि प्रश्न उठ्न थालेको छ ।
पहिलो एक वर्षको कामले आगामी चार वर्ष पनि यो सरकारले खासै उपलब्धि हात पर्ला भन्ने आशा देखिन्न । बरु अझै बिडम्बनापूर्ण स्थिति आउला भन्ने संकेतहरु पछिल्ला घटनाक्रमले देखाएको छ ।
नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ अर्का अध्यक्ष पुष्पकमल दाहाल सरकारकै विरुद्धमा बोल्न लाग्नुभएको छ । यसले अवस्था अझै बिडम्बनापूर्ण निम्त्याउने देखिन्छ ।
पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल यसअघि नै सरकारको विरुद्धमा बोल्नु भएको थियो । तर अहिले पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल नै सरकारले संघीयताविरुद्ध काम गरिरहेको भनेर विरोध गर्न लागेपछि सत्ता डगमगाउने अवस्थामा हो कि भन्ने पनि देखाउँछ ।
संघीयता लागू गराउन नखोजेको हो कि ? भन्ने संशय दाहालमा देखियो । प्रधानमन्त्रीले सबै शक्ति एकीकृत गर्न खोज्दा दाहाल सशंकित हुनु परेको छ । संविधानले व्यवस्था गरेबमोजिम तथा म्याण्डेड विपरीत सरकार अघि बढ्न खोजेको भन्ने दाहालको आक्रोशले यसलाई गम्भीर संकेतको रुपमा लिनु पर्ने स्थिति आएको हो ।
अहिलेसम्म प्रधानमन्त्री ओलीलाई पार्टीभित्रबाट किचलो थिएन । तर अहिले आएर पार्टी भित्रै बाट प्रश्न उब्जिएपछि प्रधानमन्त्रीको समय अब पार्टी मिलाउन तिर लाग्नु पर्ने पनि देखिन्छ ।
आफूले भनेको कुरालाई आलोचना नगरि हुन्छ भन्नेसँग मात्रै बस्ने अनि आफूले भनेको कुरालाई चुनौति दिन खोज्ने, विकल्प दिन खोज्नेलाई पाखा लगाउने प्रवृत्ति सरकारको नेतृत्व गर्नेमा देखियो । मन्त्रीहरु पनि त्यस्तै रहे ।
आलोचना गर्ने, विकल्प दिन सक्नेलाई पो नजिक राख्नु पर्ने थियो । तर त्यसतर्फ ध्यान गएको देखिएन । पछिल्लो समयमा एउटा अध्यक्षको एउटा कुरा अर्कोको अर्को कुरा हुँद खेरी झनै अलमल बनाएको छ । तर अब सरकार आफैले एक वर्षको अवधि फर्केर हेर्नु जरुरी छ ।
के पुगेन छ अब गरौँ भनेर सुधार्ने बाहेक अर्को विकल्प सरकारसँग छैन । पहिलो एक वर्ष जसोतसो बितायो यही रबैया रहिरहे अबको बाँकी रहेको चार वर्ष पनि खासै उपलब्धि हुनेवाला देखिँदैन ।
(राजनीतिक विश्लेषक विष्णु सापकोटासँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सापकाेटा राजनीतिक विश्लेषक हुनुहुन्छ ।