प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक: चीन

 असार ८, २०७५ शुक्रबार ७:१४:३५ | रासस
unn.prixa.net


बेइजिङ - प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ । 

प्रधानमन्त्री ओली र उहाँका समकक्षी लि खछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि आज आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट हल अफ द पिपुल्समा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, ‘प्रधानमन्त्री ओलीको भ्रमण स्पेसल सिग्नेफिकेन्स भयो’ । 

सहायकमन्त्री कोङले राजनीतिक स्थायित्वपछि नेपालको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको बताउनुभयो । 

प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो पटकको यस भ्रमणमा १४ विषयमा सहकार्य गर्ने सहमति भएको जानकारी दिँदै उहाँले नेपालले पनि एक चीन तथा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो । 

नेपालले चीनबाट उच्चस्तरको भ्रमणको इच्छा व्यक्त गरेको र जवाफमा चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको उहाँको भनाइ छ ।

सहायकमन्त्री कोङले हिमाली अन्तरदेशीय सम्पर्कलाई विस्तार गर्दै लैजाने विषयमा दुवै देशका नेताहरु सहमत भएको तथा स्वतन्त्र व्यापार सम्झौताका विषयमा सम्भाव्यता अध्ययन गर्ने र नेपालका सातै प्रदेशमा आर्थिक विकास गर्ने विषयमा विचारविमर्श भएको जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया