नेविसङ्घका अघिल्लो मिति बनाइ गरिएका निर्णय बदर

 फागुन १, २०७५ बुधबार ८:५:४३ | रासस

काठमाण्डाै – नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले यो निर्णय गरेको पार्टी केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिई स्वीकृत भइसकेको अवस्थामा विघटित कार्यसमितिबाट केही मनोनयन भएको जानकारीमा आएपछि पार्टीले यस्तो निर्णय गरेको हो ।

सङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको यही माघ २ गते स्वतः म्याद समाप्त भएको थियो । कार्यसमितिको म्याद समाप्त भएपछि सङ्घका अध्यक्ष महरले पार्टी नेतृत्वको निर्देशनअनुसार माघ २८ गते पदबाट राजीनामा दिनुभएको थियो र सोही दिन राजीनामा स्वीकृत भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आआफ्नो धारणा राख्नुभएको थियो ।

काङ्ग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । गएको मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । यस विषयमा पार्टीको बैठकमा पक्ष र विपक्षका दुवै धारणा आएका छन् ।

यही बहसका कारण महासमिति बैठकपछि केन्द्रीय समिति बैठक पटकपटक बसे पनि पार्टीको विधानले अझै अन्तिम रुप पाउन सकेको छैन । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी फागुन १ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया