गुरिल्लाकै बाटोमा म्याराथन, गोरखाका भिमबहादुर गुरुङले जिते उपाधि

 फागुन १, २०७५ बुधबार १६:५५:४९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गुरिल्ला म्याराथन सञ्चालन गरेर जनयुद्ध दिवस मनाएको छ । 

गाउँपालिकाको आयोजनामा सम्पन्न ‘मौराखारा गुरिल्ला म्याराथन’को उपाधि गोरखाका भिमबहादुर गुरुङले जितेका छन् । गुरुङले निर्धारित २३ किलोमिटर दूरी ३ घण्टा १८ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । 

त्यसैगरी ३ घण्टा २२ मिनेटमा दूरी पार गरेका सानीभेरी गाउँपालिका–३, रुकुमका अर्जुन बस्नेत दोस्रो तथा मुसीकोट नगरपालिका–७ साँखका दुर्गाराज बुढा तेस्रो भएका छन् । बुढाले ३ घण्टा २४ मिनेटमा पूरा गरेका थिए । त्यस्तै ३ घण्टा २८ मिनेटमा दौड पूरा गरेका प्यूठानका दामोदर बुढामगर चौथो भएका छन् । म्याराथनमा ६१ जना सहभागी भएका थिए ।

गुरिल्ला म्याराथनको विजेताले ६० हजार, उपविजेताले ४५ हजार, तेस्रोले ३५ हजार र सान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।  म्याराथनमा उत्कृष्ट १० खेलाडीलाई पनि सम्मान गरिएको आयोजक सानोभेरी गाउँपालिकाले जनाएको छ । 

म्याराथन तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धमा प्रयोग गरेको बाटोमा सञ्चालन गरिएको हो । सानीभेरी गाउँपालिका कार्यालय सिम्लीबाट सुरु भएको प्रतियोगिता मौराखारा, चाख्लेमेला, रिम्ना दोभान, जाजरकोटको रिम्ना हुँदै सुरुभएको स्थानमा पुगेर समाप्त भएको होे ।

मौराखारा गुरिल्ला म्याराथन २०७४ सालबाट सुरुवात गरिएको हो । सानीभेरी गाउँपालिको आयोजनामा हुँदै आएको म्याराथन गाउँपालिकाभित्रका ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रहरुलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया