पशुपतिले ऐना देखाए : ऐना फुटाउने कि अनुहार सफा गर्ने ?

 फागुन ६, २०७५ सोमबार १२:४९:२६ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै – पृष्ठभूमिमा न्याय माग्दै गरेकी निर्मलाको आवाज शान्त भइसकेको छैन । पत्रिकाको हेडलाइन कहिले सिन्डिकेट, सुनकाण्ड, सांसदको घरभाडा र तेल प्रकरण, कहिले वाइडबडीको गनगन त कहिले डाक्टर केसीको अनशनले तताइसकेर पनि सेलाउँदै मनतातो हुन थालेको बेला फेरि उम्लने स्थिति आयो, जब स्वयं पशुपति शर्मा विगतका यी सबै खातापातासहित ‘फ्रन्ट’मा तानिए ‘लूट कान्छा लूट’सँगै । 

गीत सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै यो विषयले एउटा नयाँ तरंग ल्यायो । सरकार र नेकपाका नेता कार्यकर्ताले यसलाई सरकार र पार्टी विरुद्धको हमलाको रुपमा लिए भने कांग्रेसलगायतका केही पार्टीहरुले सडक तताउने मसलाको रुपमा उपयोग गरे ।

चुनावकै बेला कम्युनिष्टको सरकारमा रुन पनि पाइँदैन भन्ने कांग्रेसका लागि आफ्नो भनाइ सावित भयो भन्ने यो राम्रो मौका भयो । अर्कोतिर आफ्ना पार्टी कार्यकर्तालाई प्रधानमन्त्रीज्यूले उहिल्यै सरकार विरुद्ध बोल्नेमाथि अरिङ्गालझैं आक्रमण गर्न दिएको आदेशको प्रयोगात्मक परीक्षण गर्न पनि सहयोग गर्‍याे । 

चित्र होइन चरित्रको आलोचना 

बस्तुगत विश्लेषण गर्दा गीतमा प्रस्तुत गरिएका विषय यथार्थ र सत्य हुन् । यो गीतको विरोध गर्नेहरुलाई पनि यो कुरा थाहा नभएको होइन । गीतमा प्रयोग गरिएका केही शब्दहरुमा अलिकति संशोधन गरिएको भए वा अरु नै शब्द प्रयोग गरिएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव दिने ठाउँ भए पनि यसलाई आफूतिर फर्काएर दाह्रा किट्ने विषय बनाइनुचाहिँ त्यति उपयुक्त नहोला । 

यो व्यक्ति होइन, प्रवृत्तिको विषय हो । गीतमा समाजका धेरै विकृतिहरुको उत्खनन गरिएको छ । त्यसलाई भत्काइएको वा बिगारिएको रुपमा हेरिनु हुँदैन । गायकले जुन कुरा गीतमा भनेका छन्, त्यही कुरा धेरैले हरेक चोकचोक र गल्लीगल्लीमा भनिरहेकै छन् ।

केही वर्तमानका ताजा विषयहरु देखिँदा सबै नेकपाको सरकारलाई नै भनेको जस्तो देखिए पनि यसबाट प्रतिपक्षलगायत राज्य संयन्त्र पनि अछुतो छैन । र यसको अर्थ सबैलाई एउटै टोकरीमा राख्न खोजिएको होइन र हुँदैन पनि । आज कांग्रेस प्रतिपक्षमा भए पनि उसले हिजो गरेका गल्तीबाट चोखिन मिल्दैन । यो गीत त अहिले सत्तामा रहेको नेकपा र पहिले सत्तामा रहेको कांग्रेस दुवैका लागि साझा हो । 

निर्मलाको हत्या, सुनकाण्ड, यातायात क्षेत्रको सिन्डिकेट, वाइडवडी प्रकरण, मन्त्री र कर्मचारीको भ्रमणमा राज्यकोषको अनावश्यक दोहनलगायतका विषयमा सरकारको सुस्तता र निरिहता देखेर कोही पनि खुशी छैन । यस्ता विषयमा बोल्नेलाई पख्लास् भन्दै औँला देखाउनुभन्दा त्यसलाई सच्याउनु बुद्धिमानी होला । 
कमजोरी लुकाएर लुक्दैन । यो त झन् भोलि सरकारकै निम्ती अप्ठ्यारो पार्ने विषय हुन् ।

सामाजिक सञ्जालहरुलगायत सञ्चार माध्यमहरुमा सरकारका नकारात्मक कुरा मात्रै आए भन्ने सरकारका मन्त्रीहरु र नेकपाका नेताहरुको गुनासो रहेको पाइन्छ ।  यो तर्क अनुहारतिर ऐना फर्काएर ऐनालाई अनुहारको दाग किन देखाइस्, खुट्टामा लगाएको नयाँ जुत्ता किन देखाइनस् भने जस्तै हो । 

नागरिकको हितमा काम गर्नु सरकारको दायित्व हो भने सरकारका दोषहरु औंल्याउनु र आलोचना गर्नु सचेत नागरिकको अधिकार हो । यसलाई सरकार विरुद्धको षड्यन्त्र  सम्झिनु हुन्न । यो त गुनासा सुनेर राम्रो काम गर्ने अवसर हो । राज्य संयन्त्रको जिम्मेवार ठाउँमा पुगेका व्यक्तिहरुले आफ्नो काम छोडेर सर्वसाधारण नागरिक र कलाकारहरुले उठाएका विषयहरुको प्रतिवाद गर्नमै समय खर्चिने गरेको देखिन्छ, जुन महत्वपूर्ण समयको बर्बादी मात्रै हो । 

आलोचना सहन नसक्ने पुरानै रोग 

प्रतिपक्षमा छँदा संविधानका स्वतन्त्रता र समानताका धाराहरु कण्ठै हुने र सरकारमा गएपछि भुसुक्कै बिर्सने नेपाली राजनीतिको पुरानै रोग हो । हिजो सरकारमा छँदा टेलिभिजन कार्यक्रममा प्रश्न सोध्नेलाई हप्काउनेदेखि सरकारको मनोमानी विरुद्ध अनशन बसेकै कारण भोको अनशनकारीलाई पक्राउ गर्ने कांग्रेसले आज स्वतन्त्रताको धारा सम्झने गरेको छ ।

भोलि सरकारमा पुगेपछि आज प्रतिपक्षमा हुनेले त्यो सबै बिर्सिने छ र भोलि प्रतिपक्षमा पुग्नेले फेरि त्यही धाराको प्रयोग गरी जुलुस निकाल्नेछ । 

जे होस् अहिले बहसको विषय बनेको गीत हिजो नागरिकसँग गरिएका वाचा विपरीत गरिएका कामहरु बिरुद्ध गरिएको व्यंग्य हो । यसलाई कसैको समर्थन वा विरोधको रुपमा नलिई देखिएका कमजोरीहरु सुधार्ने अवसरको रुपमा लिनुपर्दछ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया