यस्तो भएमा चम्किन्छ अर्जेन्टिनाको भाग्य

 असार ९, २०७५ शनिबार ९:४१:३३ | उज्यालो सहकर्मी

विश्वकप फुटबलमा समूह डीको प्रतिस्पर्धा निकै नै रोमाञ्चक बनेको छ । यो समूहबाट दुई खेल जितेर क्रोएसिया ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । यो समूहका अरु ३ टिम नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको संभावना कायम छ । यी ३ मध्ये एक टिम अघिल्लो चरणमा पुग्नेछन् । 

समूह चरणका दुई खेल सकिँदा नाइजेरियाको ३ तथा आइसल्याण्ड र क्रोएसियाको समान १ अंक छ । तर गोल अन्तर अर्जेन्टिनाको भन्दा आइसल्याण्डको राम्रो छ । आसल्याण्डको गोल अन्तर  माइनस २ छ भने अर्जेन्टिनाको माइनस ३ छ । यो समूहको अन्तिम २ खेल मंगलबार राति पौने १२ बजे एकै समयमा हुने छ । त्यो खेलपछि मात्र अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्ने छ ।

नाइजेरिया 

यो समूहमा रहेको ३ टिममध्ये नाइजेरिया मात्र एक टिम हो जो अर्जेन्टिनाविरुद्धको खेल जितेमा अघिल्लो चरणमा पुग्ने छ । उसले अघिल्लो चरण पुग्नका लागि अरु खेलका नतिजा कुर्नु पर्दैन ।

नाइजेरियासँग अर्जेन्टिनालाई बराबरीमा रोकेर अघिल्लो चरण पुग्ने सम्भावना पनि कायम छ । अर्जेन्टिनासँग बराबरी गरेको खण्डमा नाइजेरियाले क्रोएसिया र आइसल्याण्डसँगको खेलको नतिजामा पनि भर पर्नु पर्छ ।

नाइजेरिया बराबरीमा रोकिएको खण्डमा क्रोएसियाले आइसल्याण्डलाई हराएमा उ अघिल्लो चरणमा पुग्ने छ । साथै क्रोएसियामाथि आइसल्याण्डको १ गोल अन्तरको जितले पनि नाइजेरियालाई अर्जेन्टिनासँग बराबरी गरे अघल्लिो चरणमा पुग्नबाट रोक्न सक्दैन । यस्तो अवस्थामा नाइजेरिया गोलअन्तरका आधारमा आइसल्याण्डलाई पन्छ्याउँदै अघिल्लो चरणमा पुग्नेछ ।

आइसल्याण्ड 

एक अंकसहित तेश्रो स्थानमा रहेको आइसल्याण्डलाई अघिल्लो चरण पुग्नका लागि क्रोएसियासँगको खेल जित्नुको विकल्प छैन । क्रोएसियासँगको जित मात्र पनि आइसल्याण्डलाई अघिल्लो चरण पुग्न प्रयाप्त हुँदैन । उसले अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा भर पर्नु पर्छ ।

क्रोएसियासँगको खेल २ गोलभन्दा बढीको अन्तरले जितेको स्थितिमा अर्जेन्टिना र नाइजेरियाले बराबरी खेलेमा, वा अर्जेन्टिना ३ गोलभन्दा कम अन्तरमा विजयी भएमा आइसल्याण्ड अघिल्लो चरणमा पुग्ने छ । 

अर्जेन्टिना 

आइसल्याण्डकै समान १ अंक भए पनि गोल अन्तरका आधारमा तालिकाको पुछारमा रहेको अर्जेन्टिनालाई पनि अघिल्लो चरणमा पुग्नका लागि नाइजेरियासँगको खेलमा ३ गोलभन्दा बढीको अन्तरको जित बाहेक अर्को विकल्प छैन । उसले नाइजेरियालाई ३ गोल भन्दा बढीले हराएमा पनि अघिल्लो चरणमा पुग्न क्रोएसिया र आइसल्याण्डको खेलको नतिजामा भर पर्नुपर्छ ।

क्रोएसिया र आइसल्याण्डबीचको खेल बराबरी भएमा वा क्रोएसियाले जितेको स्थितिमा अघिल्लो चरणमा पुग्न अर्जेन्टिनालाई केबल  नाइजेरियामाथि जित भए मात्रै पुग्छ ।

आइसल्याण्ड विजयी भएको स्थितिमा उसले क्रोएसियालाई जति अन्तरले हराउँछ, अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न नाइजेरियालाई त्यसमा १ गोल अन्तर थपेर हराउनु पर्छ । उदाहरणका लागि आइसल्याण्डले क्रोएसियालाई १–० ले हराएमा अर्जेन्टिनाले नाइजेरियालाई २–० ले हराउनु पर्छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया